विराटनगर - मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिका भएर बग्ने सिंघिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । विराटनगर–८ हाटखोलाका ७ वर्षीय बालक उप्लव बस्नेतको शव खोलामा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।
उनका अनुसार बालक खेल्नभन्दै हिजो बिहान ११ बजेतिर घरबाट निस्किएको खुलेको छ । खोजी गर्दा पनि फेला नपरेका उनको शव खोलाको दहमा जाल हानेर बाहिर निकालिएको हो । बालकले लगाएको चप्पल भने खोलाकै डिलमा भेटिएको थियो । प्रहरीका अुनसार मृत फेला परेका बालकको शरीरमा कुनै चोटपटक छैन भने घटना शंकास्पदजस्तो पनि देखिँदैन ।
पौडी खेल्न खोज्दा खोलामा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए । बालकका बुवा उपेन्द्र बस्नेत पनि नेपाल प्रहरीका सइ हुनुहुन्छ । तेह्रथुममा कार्यरत उपेन्द्र छोराको मृत्यु भएको जानकारी पाएलगत्तै आज विराटनगर आएका छन ।

