विराटनगर- मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले एक वर्षको अवधिमा विभिन्न प्रकृतिका अपराधसँग सम्बन्धित तीन सयभन्दा बढी मुद्दा दर्ता गरेको छ । २०७७ वैशाखबाट हालसम्म अपराधमा संलग्नलाई कानुनी कारबाहीको दयारामा ल्याउँदै प्रहरीले शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने क्रममा महत्वपूर्ण भूमिका खेलेको हो ।

बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) ऋषिराज ढकालका अनुसार मोरङको बेलबारी अपराधिक गतिविधी धेरै हुने इलाकाभित्र पर्छ । बेलबारी पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको छ । लगभग एक वर्ष अधि बेलबारी प्रहरी प्रमुखको जिम्मेवारी पाएका ढकालकै नेतृत्वमा प्रहरीले सफलता प्राप्त गरेको हो ।

समाजमा व्याप्त गुण्डागर्दी, चोरी तस्करी, अवैध उत्खनन्, बालविवाह, बहुविवाह, लागुऔषधको ओसारपसार, अवैध गतिविधी लगायत जघन्य प्रकृतिका विभिन्न अपराध नियन्त्रणमा उनले विशेष अभियान चलाएकाथिए । केही दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सरुवा भएका ढकालको ठाउँमा प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर सरोज खनाललाई पठाएको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत ४५ वटा विभिन्न सचेतनामुलक कार्यक्रम एक वर्षको अवधिमा बेलबारी प्रहरीले गरेको छ ।

कार्यक्रममार्फत शान्ति सुरक्षामा चुनौतीका रुपमा देखा परेका लागुऔषधको ओसारपसार एवं कारोबार, जातीय छुवाछूत, बालविवाह, बहुविवाह, आत्महत्या, अवैध मदिराको ओसारपसार तथा किनबेच, साइबर अपराध लगायत विभिन्न जघन्य प्रकृतिका अपराध नियन्त्रणमा प्रहरीले विशेष सफलता प्राप्त गरेको हो । शान्ति सुरक्षाको अवस्था मजवुत बनाएर समाजलाई सुरक्षित राख्न र अपराध नियन्त्रणमा सफलता प्राप्त गर्न विभिन्न सचेतनामुलक कार्यक्रम फलदायी बनिरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

बेलबारी प्रहरीले वर्ष दिनभित्र विभिन्न अपराधमध्ये सार्वजनिक शान्तिविरुद्धको कसूरमा एउटा, कर्तव्य ज्यान दुई, ज्यान मार्ने उद्योग ११, भवितव्य ज्यान ४०, सवारीबाट भवितव्य नौ, चोरी १३ र जातीय भेदभाव तथा छुवाछूत कसूरमा एउटावटा मुद्दा दर्ता गरेको छ । त्यस्तै अपहरण तथा शरीर बन्धक एक, जुवा ऐन दुई, बैंकिङ कसूर दुई, जबरजस्ती करणी सम्बन्धी २३, करणी उद्योगका १९, अप्राकृतिक मैथुन एउटा, बोक्सी आरोप एक, अभद्र व्यवहार ४९, बहुविवाह १३, सवारी ज्यान ४१, सवारी अंगभंग पाँच, कुटपिट अंगभंग पाँच, लागुऔषध २४, आगो लगाएको कसूरमा एउटा र पशुपक्षी सम्बन्धी एउटा मुद्दा प्रहरीले चलाएको छ । बेलबारी इलाकामा एक वर्षको अवधिमा आत्महत्याका ४५ र विष सेवन गरेर आत्महत्या गरिएका नौवटा घटना भएका छन् ।