विराटनगर– प्रदेश १ प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको आठौं बैठक आईतबार वस्दैछ । दिउँसो १ बजे बस्ने बैठक प्रतिपक्षीदलहरुले आईतबार पनि अबरुद्ध गर्ने तयारी गरेका छन ।
चैत २६, २७ र ३० गते बसेका बैठक अवरुद्ध गरेको प्रतिपक्षी दलले आईतबारको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ । सत्तारुढ दलले सहमति कायम नगरेसम्म बैठक चल्न नदिईने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए । प्रदेश सरकारले चालु आर्थिक बर्षमा ४० अर्व ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको थियो । सरकारले बजेट घाटामा सन्तुलन कायम गर्न मन्त्रिपरिषद् निर्णय मार्फत ५० प्रतिशत बजेट कटौति गरेको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमको समेत बजेट कटौति भएपछि प्रदेशसभामा विवाद उत्पन्न भएको छ । बजेट कटौतिको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाले बैठक अवरुद्ध गर्दै आएका छन् ।आईतबारको संसद बैठकमा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन् । मुख्यमन्त्री राईलाई बोल्न नदिए सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले मुख्यमन्त्रीलाई विशेष समयमा बोल्न नदिएर बैठक अवरुद्ध गरे सरकारले निर्णय लिने बताए । संसद बैठक अवरुद्ध गर्दै आएका दलहरुसँग सहमति कायम नगरे सम्म मुख्यमन्त्री राईलाई बोल्न नदिईने नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।

