विराटनगर–विराट गोल्डकपको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।  सहिद रंगशाला विराटनगरमा शनिबारराती सम्पन्न छैठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कब्जा गर्ने क्रममा उसले पाहुना टोली भारतको पञ्जावलाई १–० गोल अन्तरले स्तब्ध बनायो ।

पञ्जाव पनि भारतको विभागीय टिम हो । निर्णायक गोल गरेका प्रदीप लामाको भूमिका एपीएफको जितका लागि निक्कै महत्वपूर्ण बन्यो । ११ औँ मिनेटभित्रै बललाई फ्रेमभित्र प्रवेश गराउन सफल भएका उनले टिमलाई उपाधि उचाल्न सहज पारिदिए । गोलरक्षक सतवीर सिंहलाई विट गर्दै प्रदीपले बललाई पोस्टभित्र पुर्याउँदा पञ्जाव उपाधिविहीन अवस्थामा निराश बनेर फर्कियो । उपाधि उम्कन नदिने क्रममा एपीएफका गोलरक्षक राजु नगरकोटी, डिफेन्डर राजन गुरुङ र कप्तान सुदीप शिख्राकारको प्रदर्शन उत्कृष्ट रहयो ।

उपाधिसँगै एपीएफले ट्रफीसहित पुरस्कार स्वरुप १५ लाख १५ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेतामा खुम्चिएको पञ्जावले ७ लाख ५१ हजार रुपैयाँमै चित्त बुझायो । पहिलो हाफमा फितलो प्रदर्शन गरेको पञ्जावले गोल गर्ने गतिलो अवसर सिर्जना गर्न सकेन ।

मध्यान्तरपछि सुधारिएको प्रदर्शन गरेर निरन्तर पोस्ट आक्रमणको रणनीति बुने पनि विदेशी मैदानमा पञ्जाव असफल बन्यो । एक्लो गोलकर्ता प्रदीप लामा फाइनल खेलको म्यान अफ दी म्याच बनेर । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाउन सफल भए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी एपीएफका आशिष लामाले मोटरसाइकल पुरस्कार पाएका छन् । एपीएफका राजु नगरकोटी सर्वोत्कृष्ट गोलरक्षक, सनिश श्रेष्ठ उत्कृष्ट डिफेन्डर, मणि लामा उत्कृष्ट मिडफिल्डर र सुदीप श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

सर्वाधिक गोलकर्ता विराटनगर महानगरपालिका–११ का प्रकाश बुढाथोकी बने । प्रतियोगिताभर उनको नाममा ४ गोल छ । उत्कृष्ट फरवार्ड संकटा क्लबका फोडे फोफना बने । सबैले जनही २५÷२५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।