विराटनगर– पञ्जाव पुलिस क्लव, विराट गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । विहिबार राती सम्पन्न अन्तिम सेमीफाईनल खेलमा आहा रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई १–० ले हराउँदै पञ्जाव उपाधि नजिक पुगेको हो । पञ्जावले शनिबार शसस्त्र प्रहरीको एपीएफसँग उपाधिका लागि खेल्ने छ ।

पहिलो पटक विराट गोल्डकपमा भाग लिएको पञ्जावका खेलाडी परमजीत सिंहले खेलको ७५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।  हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेनाल्टी एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भयो ।

यसअघि संकटाले आहा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४–२ गोलले हराउँदै उपाधि जितेको थियो । संकटाले दोस्रो पटक विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । दोस्रोे हाफपछि संकटाले  खेल बराबरीमा ल्याउन आक्रामक खेल खेलेपनि सफल हुन सकेन ।

खेलको ६६, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा सेमिफाइनलदेखि बाहिर बाध्य भयो । खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

दुई खेलाडीलाई रेड कार्ड
खेल सकिएपछि संकटा र पंजावका खेलाडीबिच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन् । पंजावका कप्तान जगदीप सिंह र संकटाका  खेलाडी सहिद स्माटले रेड काड पाएका हुन् । रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै संकटा र पंजावका खेलाडी वीच भनाभन भएको थियो । रेड कार्ड पाएसँगै पञ्जावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।