विराटनगर - विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको आज बिहान मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको बिहान ४ः३० बजेतिर मृत्यु भएको हो ।

अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार उपचारका लागि नोबेल अस्पताल पुगेका बेला पीसीआर परीक्षण गराउँदा महिलाको रिपोर्ट पोजिटिभ आएको हो । त्यसपछि महिलालाई थप उपचारका लागि नोबेलले हिजो दिउँसो कोसी कोभिड अस्पताल रेफर गरेको हो ।

भगतका अनुसार गम्भीर अवस्थामा महिलालाई अस्पतालमा भर्ना गरेर उपचार थालिए पनि बचाउन सकिएन । उनले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए । मृतक महिलाका श्रीमान पनि कोरोना संक्रमित हुन् । परीक्षण रिपोर्ट पोजिटिभ आएका उनको पनि अहिले कोसी कोभिड–१९ उपचार केन्द्रमै उपचार भइरहेको भगतले बताए ।