विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय छलफल बोलाएकाछन ।प्रदेशसभामा प्रतिपक्षी दलले गरेको अवरोध सामधानका लागि भन्दै मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका हुन ।
प्रदेश १ संसदमा देखिएको समस्या सामधान गर्न हिजो प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठकमा उनीँ भने गएनन् । उनले आज बिहान मुख्यमन्त्री कार्यालयमा छलफल राखेको स्रोतले बतायो । संसद्मा देखिएको समस्या सामधान गर्न आइतबार सभामुख भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय छलफल बोलाउका थिए । मुख्यमन्त्री सहभागी नभएपछि छलफल बिना निस्कर्ष टुङ्गिएको थियो ।
हिजोको बैठकमा अनुपस्थित रहेका मुख्यमन्त्री राईले आज बिहानै बोलाइको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दिए । प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशनको छैठौं बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेका थिए ।
चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सूचारु गर्नुपर्ने माग राखेका दलहरुले आज बस्ने बैठक पनि अवरोध गर्ने तयारी गरेका छन् । सर्वदलीय छलफलमा मुख्यमन्त्री माग सम्बोधन गर्न सहमत भए प्रदेश सभामा अवरोध नगर्ने तयारी प्रतिपक्षको छ ।

