विराटनगर-संघिय र प्रदेश सरकारको बजेट खर्च नहुदा निर्माणको क्षेत्रसंग जोडिएका सिमेन्ट, फलामे डण्डी, इँटा उद्योगहरुको उत्पादन ५० प्रतिशतले खुम्चिएको छ ।
प्रदेश सरकारले चालुआर्थिक बर्षको बजेटको २० प्रतिशत पनि खर्च गर्न सकेको छैन । संघिय सरकारले समेत विकासमा छुट्याएको रकम खर्च गर्न नसक्दा निर्माणसंग जोडिएका उद्योगहरुको उत्पादन खपत हुन सकेको छैन । माग घटेपछि उद्योगहरुले आफ्नो उत्पादन क्षमता भन्दा आधा कटौती गरेका छन ।
प्रतिदिन ८ सय मेट्रिक टन फलामे डण्डी उत्पादन गर्दै आएको दुहवीको प्रिमियर स्टिलले कोभिड पछि पनि आफ्नो उत्पादन पूणर् क्षमतामा संचालन गर्न सकेको छैन । अहिले दैनिक ३ देखी ४ सय टन मात्र उत्पादन भइरहेको छ । प्रिमियर स्टिलका संचालक तथा मोरङ ब्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले सरकारी योजनाका बजेट बजारमा नआएको कारण निर्माण क्षेत्रका सामाग्रीको माग घटेको बताउछन ।
उनका अनुसार सरकारले बिकासका लागि छुट्याएको बजेट नै खर्च नभएपछि बजारमा रकम आउदैन । बजारमा रकम नआएपछि खरिदविक्री हुने कुरै भएन । ठेकेदारले ठेक्का लिएपनि बजेट भुक्तानी नपाएपछि उत्पादनको खरिदबिक्री नै हुदैन । त्यहि भएर डन्डी उद्योग, सिमेन्ट र इँटा उद्योगको उत्पादन घटेको सारडाले बताए ।
प्रदेश १ मा मैनावती, प्रिमियर स्टिल, पशुपति आइरन, आरती स्ट्रिप, हुलाश वायर, कमला रोलिङ, र पाथिभरा स्टिल उद्योग रहेका छन । सबै स्टिल उद्योगको क्षमता दैनिक तीन सय टन भन्दा बढी छ । तर माग नभएपछि सबै उद्योगको उत्पादन आधा घटेको उद्योगीहरु बताउछन ।
अन्नपूणर् सिमेन्टका संचालक तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेन्द्र राउतले प्रदेश र केन्द्रिय सरकारको बजेट खर्च २० प्रतिशत पनि नपुगेकाले विकास निर्माणका कामहरु संचालन नहुदा सिमेन्टको माग ५० प्रतिशत घटेको बताए । प्रदेश १ का झापामा ७, मोरङमा ४, सुनसरीमा १, धनकुटामा १, र उदयपुरमा सरकारी स्वाभित्वको सिमेन्ट उद्योग गरि १४ सिमेन्ट उद्योग संचालनमा छन । अहिले सबै उद्योगको उत्पादन ५० प्रतिशत घटेको छ ।
कोशी ईटा व्यवसायी संघका अध्यक्ष महेद्रप्रसाद साहले कोरोनाको कारण भारतको कुचविहारबाट मजदुर आउन नसकेकाले प्रदेश १ का८५ वटा इटा उद्योग मध्ये १७ वटा मात्र इटा उद्योग संचालनमा रहेको बताए । उनका अनुसार अहिले सम्म निर्माणको क्षेत्रमा जेनतेन पुरानो स्टकबाट इँटा पुर्याइरहेपनि बैशाकदेखी इँटाको अभाव हुन्छ ।
भारतीय मजदुर नेपाल प्रवेश गर्ने अनुमति समयमा नपाउदा प्रदेश १ का ६८ वटा इटा उद्योगले यो बर्ष इटा उत्पादन गर्न सकेनन । प्रदेश १ मा बार्षिक ३४ करोड इटा निर्माण क्षेत्रमा प्रयोग हुदै आएको छ । प्रदेश १ का ८५ वटा इटा उद्योगमा २२ हजार मजदुर पश्चिमबंगालको कुचबिहारबाट प्रत्येक बर्ष आउएर काम गर्थे । तर यो बर्ष कोरोनाको कारण आउन सकेनन ।
कोरोना महामारीको कारण नेपाल भारत सिमाना पूणर्रुपमा आवत जावत भन्द गरिएको छ । यसको सबै भन्दा ठूलो मार प्रदेश १ का ईटा उद्योगलाई परेको छ । ईट्टा उद्योगमा ९० प्रतिसत भारतिय मजदुर हुने गरेका छन् ।
भारतिय मजदुरको भरमा संचालन हुने ईटा उद्योग कोरोना १९ को कारण सिमा सिल भएपछि उनीहरु आउन नपाएका हुन । सामान्य अवस्था हुदा बार्षिक ३ अर्ब ४० करोड रुपैया बराबर कारोवार इँटा उद्योगले गर्दै आएका थिए ।

