विराटनगर - छोरासँगको झगडामा घाँटीमा बाँसको भाटा उनिएर विराटनगरका एक पुरुषको गय राति मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ बलुवाईका ५४ वर्षीय विको सहनी मुखियाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।
माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियासँग झगडा हुँदा घाइते भएका विकोको उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको उनले बताए । बाबुको हत्यामा संलग्न रवि फरार रहेका कारण खोजी तीव्र पारिएको डीएसपी राईले बताए । स्थानीयका अनुसार विको बाँसको भाटाको बेरा लगाएर बनाइएको घरमा पसल राखेर घरेलु मदिरा बिक्री गर्थे । राति अवेरसम्म मदिरा पसल खुल्लै राखेको देखेर पसल बन्द गर्न आग्रह गरेका माइलो छोरा रविको त्यही विषयलाई लिएर बाबुसँग विवाद भएको पाइएको स्थानीयको भनाइ छ ।
विवाद बढ्दै गएपछि उनले कुटपिट गर्दै धकेलिदिँदा घरको बेरा लगाएको बाँसको भाटामा विको उनिन पुगेका थिए । उनको घाँटीमा भाटाले छेडेको चोट छ । घाँटीमा लागेको गम्भीर चोटका कारण उनको मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते अवस्थामा उपचारका लागि कोसी अस्पताल पुर्याइएका विकोलाई राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी राईले दिए। घटनास्थल वरपर रगत लतपतिएको छ । विकोका तीन छोरामध्ये जेठो जेटु र माइलो रवि माछा मारेर परिवार चलाउँथे । कान्छो छोरा बब्लु बिस्कुट उद्योगमा काम गर्छन् ।
छोरा र पत्नी सुम्नी सहनी मुखियाबाट विको अलग्गै र भिन्दै घरमा बस्ने गरेको खुलेको छ । अलगअलग बस्ने भए पनि परिवारका सबै जनाको घरको साँध र सिमाना भने जोडिएको छ । घटनापछि फरार बनेका रविको खोजी तीव्र पारेको प्रहरीले कान्छो र जेठो छोरालाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । डीएसपी राईले मदिरा सेवनका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएकाछन। उनका अनुसार घटना भएका बेला बाबु र छोरा दुवै जनाले मदिरा सेवन गरेको पनि खुलेको छ ।

