विराटनगर - जिल्ला अदालत सुनसरीको फैसला चित्त नबुझेको भन्दै बलात्कार आरोपी धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उच्च अदालत गुहार्न पुगेकाछन्। एक महिला अनुयायीले बलात्कारको आरोप लगाएपछि प्रहरीले घटनाको अनुसन्धान गरेको थियो ।
सरकारी वकिल कार्यालयले सिद्धबाबाविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरे पनि अदालतले उनलाई सफाइ दिइसकेको छ । जिल्ला अदालतले फैसला गर्दै मुद्दामा सफाइ दिए पनि त्यसविरुद्ध उहाँले उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन हिजो दर्ता गराएको हो । फैसला त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई उल्टाएर आफूलाई सफाइ दिन माग राखेर उनले निवेदन दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताए ।
उनका अनुसार सिद्धबाबाले जिल्लाको फैसलामा भनिएजस्तो सहमति करणी नभएको जिकिरसहित उच्च अदालतमा निवेदन दर्ता गराएका हुन । गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सहमति करणी गरेको देखिएकाले जबरजस्ती बलात्कार नठहरिने फैसला गर्दै सिद्धबाबालाई सफाइ दिएको थियो ।
जिल्लाको फैसलामा भनिएको छ, ‘जाहेरवाली र प्रतिवादी बीच आदान प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारिरीक सम्पर्क भएको भन्ने देखिएकोले अभियोग दावीबमोजिम जवरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’ जिल्लाको फैसलाविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले फागुन २८ गते उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।
सो मुद्दामा उच्च अदालतका न्यायाधीश प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले चैत १३ गते सिद्धबाबालाई १५ दिनभित्र झिकाउने आदेश दिएको थियो । उच्च सरकारी वकिल कार्यालयबाट दर्ता भएको पुनरावलोकन निवेदन र सिद्धबाबाले दर्ता गराएको निवेदन एउटै घटनासँग सम्बन्धित भएकाले दुईवटै मुद्दा लगाउमा राखेर कानुन अनुसार प्रक्रिया अगाडि बढाउने तयारी उच्च अदालतले गरेको सुवेदीले बताए।
२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएपछि प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाएको थियो । २०७६ पुस १४ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख धरौटीमा पूर्पक्षका लागि छाड्न आदेश दिएको थियो । आदेशविरुद्ध पनि उच्च सरकारी वकिल कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको थियो ।
२०७६ माघ ९ गते उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न अदेश दिएको थियो । आदेशअघि भारत पुग्नु भएका सिद्धबाबा ४० दिनपछि नेपाल फर्किएर सुनसरीको झुम्का कारागारमा बसेका थिए । जिल्लाको फैसलाबाट सफाइ पाएपछि भने उहाँ सुनसरीको चतरास्थित आश्रममै फर्किएकाछन।

