विराटनगर-  मोरङको रतुवामाईमा भएको दुर्घटनामा परेर हिजोसाँझ एक वृद्धा महिलाको मृत्यु भएको छ । दक्षिणतर्फ जाँदै गरेको मे ११ प ५४५५ नम्बरको मोटरसाइकलले रतुवामाई नगरपालिका–३ स्थित भित्री सडक खण्डमा पैदल यात्रा गरिरहेकी वृद्धा महिलालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट रतुवामाई–३ की ६० वर्षीया चिन्तीदेवी ताजपुरीयाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । ठक्करबाट गम्भीर घाइते भएपछि ताजपुरीयालाई तत्काल उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया लगिएको थियो ।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि रङ्गेली अस्पताल पुर्याउनसाथ चिकित्सकले साँझ ६ः३० बजेतिर मृत घोषित गरेको जानकारी राईले दिए । दुर्घटनापछि चालक रतुवामाई–३ का १८ वर्षीय अक्षयकुमार ताजपुरीयालाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान थालिएको डीएसपी राईको भनाइ छ ।