विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमाले नेपाल समूहका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन् । गत पुस १२ गते मुख्यमन्त्री राई विरुद्ध तत्कालिन नेकपाका ३५ जना सांसदहरुले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेका मध्ये ५ जनाले यसअघि नै गुटपरिवर्तन गरि ओली समूहमा गएका छन् ।

नेपाल समूहमा रहेका १६ जना सांसदहरुले सामुहिक रुपमा हस्ताक्षर फिर्ता लिएको सांसद राजेन्द्र राईले बताए । सामुहिक रुपमा हस्ताक्षर फिर्ता लिएको प्रदेशसभालाई जानकारी गराईएको छ ।  गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुर्ववत रुपमा फर्काएको र नयाँ राजनीतिक परिस्थितिको निर्माण भएकाले मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावको समर्थन फिर्ता लिएको सांसद राईले बताए । 

गत बुधबार मुख्यमन्त्री राईले आफु विरुद्धको हस्ताक्षर एक साता भित्रमा फिर्ता लिन निर्देशन दिएका थिए । संसदीय दलको बैठकमा राईले हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । प्रदेशसभाको बैठक चैत २३ गतेलाई बोलाईएको छ ।