विराटनगर - मोरङको बेलबारीमा बेबारिसे अवस्थामा एक पुरुषको शव हिजो दिउँसो भेटिएको छ । प्रहरीका अनुसार बेलबारी नगरपालिका–३ स्थित लोहोन्द्रा खोलानजिक अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
आफन्त वा पारिवारिक नाता सम्बन्धका कोही पनि सम्पर्कमा नआउँदा पहाडे र आदिवासी जनजाति समुदायका जस्ता देखिने मृतकको पहिचान खुलेको छैन । पिपलको रुख मुनी म्याट ओछ्याएर र झोलाको सिरानी लगाएर सुतिरहेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।
उनका अनुसार स्थानीय बासिन्दाले मृत्यु भएको अवस्थामा शव देखेपछि दिउँसो ४ः३० बजेतिर प्रहरीलाई खवर गरेका हुन् । स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार मृतक केही समयदेखि बेलबारी क्षेत्रमा मागी खाएर हिँड्थे । प्रहरीले बिरामी परेर वा शारीरिक रुपमा कमजोर भएका कारण सुतेकै ठाउँमा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान लगेर घटनाको अनुसन्धान थालेको छ । मृतकको शरीरमा कुनै चोटपटक भने नरहेको र अनुसन्धानपछि घटनाको वास्तविकता बाहिर आउने ढकालले बताए ।

