विराटनगर- मोरङको मिक्लाजुङमा जङ्गली हात्तीको आक्रमणमा परेर गयराति एक पुरुषको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार हात्तीको आक्रमणबाट मिक्लाजुङ गाउँपालिका–६ थामीझोडाका ४९ वर्षीय यामबहादुर बोहोराको मृत्यु भएको हो ।

बोहोरा कान नसुन्ने र बोल्न नसक्ने अपाङ्गता भएका व्यक्ति हुन् । प्रहरी निरीक्षक देवका अनुसवार छिमेकी मनबहादुर मगरको घरमा टिभी हेरेर फर्कने क्रममा उनलाई राति १० बजेतिर हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । उपचारका लागि मधुमल्लातिर ल्याउँदै गर्दा बोहोराको बाटैमा राति ११ बजेतिर ज्यान गएको प्रहरीले जनाएको छ । उनी श्रीमती सावित्रा कार्कीसँगै छिमेकी मगरको घरबाट टिभी हेरेर फर्कदै थिए ।

सावित्रा पनि कान नसुन्ने र बोल्न नसक्ने अपाङ्गता भएकी महिला हुन् । बोल्न र सुन्न नसक्ने अवस्थाका श्रीमानश्रीमती अरुसँग इशाराले मात्रै दोहोरो कुराकानी गर्न सक्थे । छिमेकीकोमा टिभी हेरिसकेर श्रीमानसँगै घरतिर फर्कदै गर्दा एक्कासि हात्तीसँग जम्काभेट भएपछि सावित्रा भने भागेर बाँच्न सफल भएको पाइएको प्रहरी निरीक्षक देवले बताऐ । भागेर छिमेकीको शरणमा पुग्न सके पनि उनका श्रीमानलाई भने हात्तीले लछारेर आक्रमण गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।

गाउँमा हात्ती आएको र श्रीमानलाई आक्रमण गरेको जानकारी उनले गराएसँगै स्थानीय बासिन्दाले होहल्ला गर्न थालेपछि हात्ती जङ्गलतर्फ भागेको थियो । मृतकको छात्ती, पिठ्यूँ लगायत शरीरका विभिन्न भागमा हात्तीले आक्रमण गरेको चोट एवं दागहरु रहेको प्रहरीले जनाएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि उर्लाबारीकै मङ्गलबारे अस्पताल लगेर घटनाको अनुसन्धान थालेको छ । घटनास्थलमा हात्तीको पाइलाका डोबहरु भेटिएका छन् ।

घटनापछि हात्ती कतातिर लाग्यो भन्ने यकिन हुन नसकेको र पाइलाको डोब हेर्दा उत्तरतर्फ गएजस्तो देखिने मृतकका दाजु ठन्डबहादुर बोहोराले बताए । प्रहरीले दुई÷तीनवटा हात्ती घटनास्थलमा रहेको जनाए पनि स्थानीय बासिन्दाले भने एउटा मात्रै हात्ती देखेको बताएका छन् । ठन्डबहादुरका अनुसार यसअघि पनि पटक–पटक गाउँ पसेर जङ्गली हात्तीले वितण्डा मच्चाउँदै आएको छ । हुलका हुल जङ्गलबाट गाउँ पस्ने हात्तीको समूहले सर्वसाधारणको घर भत्काइदिने, बालीनाली खाइदिने र घरमा भएका अन्न खाइदिएर क्षति पुर्याउने तथा आतङ्क मच्चाउने गर्दै आएको छ ।

तर अहिले भने मानवीय क्षति नै हुने गरीको घटना गराएको ठन्डबहादुरले बताए । उनका अनुसार घटनापछि स्थानीय बासिन्दा त्रसित एवं आतङ्कित बनेका छन् । स्थानीयले बारम्बार जङ्गली हात्ती नियन्त्रणको माग राखे पनि कसैले वास्ता नगर्दा मानवीय क्षति बेहोर्नु परेको गुनासो गरेका छन् । ‘जङ्गली हात्तीले बारम्बार सर्वसाधारणलाई दुःख दिइरहेको छ । बालीनाली खाएर सखाप बनाउनेदेखि लिएर घर भत्काइदिनेसम्मका हानीनोक्सानी गरिरहँदा हामी असुरक्षित महसुस गरेर बसिरहेका थियौँ,’ ठन्डबहादुर भन्छन, ‘तर नियन्त्रणका लागि कोही कसैले पनि चासो दिएको पाइँदैन ।

हामी वर्षौंदेखि हात्तीको पीडा सहेर बसिरहेका छौँ ।’ विगतदेखि नै हात्ती पीडित बनेर बसिरहेको अवस्थामा पछिल्लो समय भने हात्तीको आक्रमणबाट परिवारका सदस्य नै गुमाउनु परेको उनको गुनासो छ ।