विराटनगर-विराटनगरबाट अब २० मिनेटको हवाइयात्रा तय गरेर बंगलादेश पुग्न सकिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलदेश भ्रमणको क्रममा दुईदेश विच छोटो रुटको हवाइ उडान गर्ने सहमति भएको हो ।
बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका क्रममा ढाका पुगेकी राष्ट्रपति भण्डारीले सिधा हवाई उडानका लागि बंगलादेश सरकारसँग आग्रह गरेकी थिइन् । बंगलादेशको सैयदपुर-विराटनगर सिधा हवाई उडान सञ्चालन गर्ने गरी तत्कालै आवश्यक प्रक्रिया अघि बढाउनेबारे नेपालको विशेष इच्छालाई बंगलादेशले स्वीकार गरेको जनाइएको छ ।
बंगलादेशले नेपालको प्रस्तावलाई स्वागत गरेको र अब त्यसलाई कार्यान्वयन गर्न औपचारिक प्रस्ताव बंगलादेश सरकारसमक्ष प्रस्तुत गरिने ढाकास्थित नेपाली राजदूतले बताएका छन् । नेपाल र बंगलादेशबीच काठमाडांैस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सम्बन्ध रहँदै आएको छ । नेपाल भ्रमणका लागि बार्षिक ३० हजार बंगलादेशीहरु आउने गरेको जनाइएको छ ।
नयाँ हवाई मार्गको प्रयोगले दुई देशबीच अझ राम्रो सम्बन्ध बन्ने र सहज रुपमा हवाई मार्गको विकास हुने भएकोले बंगलादेशी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने नेपाल सरकारको दाबी छ । वार्ता अघि बढेपछि सैयदपुर विमानस्थलदेखि झापाको भद्रपुर विमानस्थल करीव १५ मिनेट र विराटनगर विमानस्थलमा २० मिनेटको हवाई दुरी कायम हुने जनाइएको छ ।यस्तो अवस्थामा दुई देशबीच ७० सीट क्षमताका एटिआर विमानहरु सहज रुपमा प्रयोग गर्न सकिने अनुमान गरिएको छ ।
यो प्रस्तावमा बंगलादेश सरकार सकारात्मक देखिएपछि नेपाल सरकारका तर्फबाट छिटो गरी औपचारिक प्रस्ताव पठाउने सरकारको तयारी रहेको जनाइएको छ । यो कदमलाई बंगलादेशका रणनीतिकारहरुले दुवै देशका लागि फाइदा पुग्ने भन्दै सकारात्मक रुपमा लिएका छन् ।
तस्बिर : विविसी

