विराटनगर-प्रदेश १ सरकारको मन्त्री मण्डल बिस्तार भएको छ । नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्री गरि ६ जनाले शुक्रबार नै सफत ग्रहण गरेका छन । मन्त्री मण्डल गठन भएपछिको यो दोश्रो विस्तार हो । माधव नेपाल समूह र माओवादी केन्द्रका मन्त्रीहरु बाहिरिएपछिको यो पहिलो विस्तार हो । 

विस्तारित मन्त्रीमण्डलमा चार जना मन्त्री र दुई राज्यमन्त्री थपिएका हुन । मन्त्रिमण्डलमा माधव नेपाललाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आएका र माओवादी छाडेर एमाले भएकाहरु प्राथमिकतामा छन । नयाँ मन्त्रीहरूमा भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङ आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन । यस अघि उक्त मन्त्रालय माओवादीका इन्द्रबहादुर आङ्बोले सम्हालेका थिए । 

त्यसै गरि उषाकला राईले मन्त्रीको रुपमा  सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन । यस अघि उक्त मन्त्रालयमा माधव नेपाल निकट जीवन घिमिरे मन्त्री थिए ।  त्यसैगरि भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी अम्बिरबाबु गुरुङले पाएका छन ।  कृषि मन्त्रीमा राम राना, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझाले  वन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन । चार मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले सपथ ग्रहण गराएका थिए भने दुई राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले सपथ गराएका थिए ।

यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रबहादुर आङ्बोलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेको भन्दै मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए भने सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएर अविश्वास प्रस्ताव पक्षमा हस्ताक्षर गरेका थिए ।

यो मन्त्री मण्डल विस्तारसंगै मुख्यमन्त्री राई प्रदेश १ सरकारमा बलियो बनेका छन । अविश्वासको प्रस्ताव विरुद्ध आफुलाई सक्षम बनाउन उनी सफल बन्दै गएका छन ।