नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन । विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले असंवैधानिक कदम चालेकाले सत्तामा बस्ने नैतिकता गुमाएको नेता सिंहले बताएका हुन । 


उनले नेपाली जनताको लामो समयको संघर्षबाट प्राप्त भएका उपलब्धिमाथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेकोले उपलब्धि गुम्ने खतरा बढेका बताए । देश विकासका लागि कम्युनिष्टहरुले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उनको भनाइ छ । 


‘कम्युनिष्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन । तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउन तर्फ लाग्यो,’ उनले भने, ‘आन्तरिक भागभण्डा नमिलेपछि कम्युनिष्टहरुले देशलाई दुर्घटनातर्फ धकेल्न प्रयास गरे।’


कांग्रेस अहिले पनि परिस्थितिलाई सम्हालेर जान तयार रहेको भन्दै उनले नैतिकताहीन सरकारलाई माओवादी केन्द्रले समर्थन दिइराख्ने ? प्रश्न गर्दै उनले जसपाले प्रस्ट निणर्य नलिँदा सरकारको विकल्प दिन नसकिएको बताए । नेता सिंह कांग्रेस मोरङका पूर्वसभापति स्व. अशोक कोइरालाप्रति श्रद्धाञ्जली दिन विराटनगर आएका हुन ।