विराटनगर-कोरोना संक्रमण बढेसँगै मोरंग प्रशासनले भीडभाडमा रोक लगाएको छ । नजिकै आईरहेको होली पर्वमा भिडभाड गर्न प्रशासनले रोक लगाएको छ । भिडभाडले कोरोनाको संक्रमणलाई फेरि विस्तार गर्नसक्ने भन्दै पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले नियमको उल्लंघन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निणर्य गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । परिवारका सदस्यबीचमा स्वास्थ्य मापदण्ड अपनाएर मात्रै होली मनाउन प्रशासनले सबैमा अनुरोध गरेको छ । होलीका अवसरमा मेला तथा विभिन्न कार्यक्रमहरु गर्न रोक लगाइएको छ ।
गृह मन्त्रालयको परिपत्र अनुसार सुरक्षा समितिले होलीमा कडाई गरेको हो । नेपालसँगको खुला सीमा रहेको छिमेकी मुलुक भारतमा व्यापक रुपमा संक्रमण फैलन थालेपछि सीमा नाकामा पनि कडाई थालिएको छ ।
कोरोनाका कारण संसारभर नै कडाई भइरहेको अवस्थामा सुरक्षा समितिले होली पर्व समुदायमा मनाउन रोक लगाएको हो । होलीलाई सुरक्षित र संक्रमण रहित रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
कोरोना संक्रमण बढेसँगै पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गर्न शुरु गरिएको । नेकपा एमाले प्रदेश १ ले शुक्रबारका लागि आयोजना गरेको कार्यकर्ता भेला स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने गरि तयारी गरिएको कार्यकर्ता भेला कोरोना संक्रमण बढेसँगै स्थगित गरिएको नेकपा एमाले प्रदेश १ का सचिव विनोद ढकालले जानकारी दिए । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीले होली पर्वका अवसरमा आईतबारका लागि आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रम पनि स्थगित गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरि पुर्व निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

