विराटनगर - मोरङको कटहरी गाउँपालिका–७ थलाहामा रहेको एउटा कृषि फार्ममा आज बिहान भएको आगलागीमा परेर ३४ वटा खसी र ४० वटा कुखुरा जलेर मरेका छन् । देवेन्द्र भट्टराई र प्रतीक केसीले सञ्चालन गरेको सगरमाथा कृषि फार्ममा बिहान ४ बजेतिर अचानक आगलागी भएको हो ।

आगोले फार्ममा पालिएका खसी र कुरा मरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । आगो लाग्नसाथ बाहिर निकाल्न नसकिएका कारण खसी र कुखुरा फार्मभित्रै जलेर मरेको उनले बताए । घटनामा तीन लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।

आगोले फार्म पनि पूर्ण रुपमा जलेको छ । स्थानीय बासिन्दा र प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताउँदै डीएसपी राईले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए।