विराटनगर - यसवर्ष रङ्गहरुको पर्व होली जमघट र भीडभाड गरेर समुदायमा नखेल्न जिल्ला सुरक्षा समिति मोरङले सबैमा आग्रह गरेको छ । समितिको बैठकले कोरोना भाइरस सङ्क्रमणको नयाँ लहरलाई मध्यनजर गर्दै होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको हो ।
कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलन नदिन यसवर्ष समुदायमा होली खेल्न रोक लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । जमघट र भीडभाड गरेर समुदायमा होली खेल्दा कोरोना सङ्क्रमण थप फैलने तथा त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने जोखिम बढेपछि होलीका सन्दर्भमा कडा निर्णय लिनु परेको उनको भनाइ छ ।
कोरोनाका कारण संसारभर नै कडाई भइरहेको र खुला सीमा रहेको छिमेकी मुलुक भारतमा व्यापक रुपमा सङ्क्रमण फैलन थालेपछि सुरक्षा समितिले होली समुदायमा मनाउन रोक लगाएको हो । प्रजिअ निरौलाका अनुसार यसवर्ष परिवारका सदस्यबीचमा स्वास्थ्य मापदण्ड अपनाएर मात्रै होली मनाउन बैठकमार्फत सबैमा अनुरोध गरिएको छ ।
त्यस्तै होलीका अवसरमा मेला तथा विभिन्न कार्यक्रम र जमघट गर्न रोक लगाइएको उनको भनाइ छ । नियमको पालना नगरिकन जबरजस्ती गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने निरौलाले बताए । होलीलाई सुरक्षित र सङ्क्रमणरहित रुपमा सम्पन्न गर्न त्यही अनुसारको जनशक्ति र सुरक्षाकर्मी परिचालन गरिने निरौलाको भनाइ छ ।
यसैबीच होली पर्वलाई मध्यनजर गर्दै प्रदेश १ को राजधानी विराटनगर लगायत मोरङ जिल्लाभरको सुरक्षा व्यवस्था कडा पारेर लगिएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले होली लक्षित सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । होलीमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र पर्वलाई अपराधरहित बनाउन उनी आफै फिल्डमा खट्ने बताए ।
एसपी खड्काले कोरोना फैलन नदिन समुदायमा होली खेल्न रोक लगाइएको अवस्थामा जबरजस्ती र इच्छाविपरीत लोला हान्ने, रङ्ग दल्ने तथा अन्य गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने बताए ।
होलीलाई सुरक्षित बनाउन पोसाक र हतियारसहितका तथा सादा पोसाकका सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिसकिएको उनको भनाइ छ । नियमविपरीत जाने कोहीकसैलाई पनि छुट दिन नसकिने एसपी खड्काले स्पष्ट पारे ।

