विराटनगर - प्रदेश १ मा करिव १२ हजार क्षयरोगी रहेको अनुमान गरिएको छ । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्भे २०७६–०७७ का अनुसार प्रदेश १ का १४ जिल्लामा १२ हजार ५२ जना क्षयरोगी रहेको अनुमान गरिएको हो ।

संख्याको आधारमा प्रति एक लाखमा २४५ जनामा क्षयरोग हुने अनुमानका आधारमा सो तथ्याङ निकालिएको हो । मोरंगमा सवैभन्दा बढी २ हजार ६६२ र तेर्हथुममा सवैभन्दा कम २४७ जनामा क्षयरोग रहेको प्रिभ्यालेन्स सर्भेमा देखिएको छ । गत आर्थिक बर्षमा प्रदेश १ मा क्षयरोगका कारण ११३ जनाको मृत्यु भएको सेभ द चिल्ड्रेन प्रदेश १ क्षयरोग संयोजक शैलेश भुजेलले बताए ।

नेपालमा विगत लामो समयदेखि नागरिक मृत्युको प्रमुख १० रोग भित्र क्षयरोग पनि रहेको उनले बताए । एउटा सरुवा क्षयरोग लागेको व्यक्तिले एक वर्षमा १० जना सम्मलाई क्षयरोग सार्नसक्छ । उपचारबाट ९० प्रतिशत क्षयरोगी निको भएको भुजेलले बताए ।

खकारमा किटाणु देखिएका र बहुऔषधी प्रतिरोधी क्षयरोगका बिरामीको सम्र्पकमा रहेका व्यक्ति, कुपोषित बालबालिका, एचआइभी संक्रमित, मधुमेहका विरामी, क्यान्सर लागेका विरामी, छातीको एक्सरेमा समस्या देखिएका बिरामी, लामो समय औषधी खाईरहने विरामी र ज्येष्ठ नागरिकमा क्षयरोगको बढी संभावना हुने सेभ द चिल्ड्रेन प्रदेश १ क्षयरोग संयोजक भुजेलले बताए।

उनले क्षयरोग शतप्रतिशत उपचार गर्न सकिने रोग भएको बताए । सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ ।