विराटनगर - भारतको जोगवनीबाट विराटनगर प्रवेश गर्ने मुख्य नाका रानीमा उच्च सतर्कता अपनाइएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि स्थानीय प्रशासनले नाकामा थप कडाई गर्ने निर्णय लिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण गर्न र संक्रमण फैलन नदिन बेलैमा सतर्कता आवश्यक रहेको निस्कर्ष निकालेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भारतबाट जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने मुख्य नाकामा कडाई गर्न थालिएको जानकारी दिए । भारतबाट आउनेले कोरोना परीक्षण गरेपछि मात्रै नेपाल प्रवेश गर्न पाउने उनको भनाइ छ ।
शंकास्पदहरु माथि धमाधम परीक्षण गर्न थालिएको छ । निरौलाका अनुसार शंकास्पद व्यक्तिको नाकामै एण्टीजेन परीक्षण गरिने छ । एण्टीजेन जाँच गर्दा कोरोना भए नभएको तत्कालै रिपोर्ट आउने उनले बताए । रिपोर्ट पोजिटिभ आए थप परीक्षण र उपचारका लागि पठाउने र नेगेटिभ आउनेलाई गन्तव्यतर्फ जान दिइने प्रजिअ निरौलाको भनाइ छ । जिल्ला प्रशासन कार्यालय मोरङमा जिल्ला स्तरीय खोप समितिको बैठक पनि बसेको छ ।
बैठकमा मोरङमा पनि संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउने निर्णय भएको उनले बताए े । बैठकले मोरङमा रहेको पाँच हजार आठ सय ७० डोज कोरोना खोप पहिलो र दोस्रो चरणमा छुटेका र विराटनगरका शिक्षकलाई लगाइने छ । पहिलो चरणमा स्वास्थ्यकर्मी र दोस्रो चरणमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइएको थियो ।
निरौलाका अनुसार पहिलो र दोस्रो चरणमा छुटेका व्यक्ति र विराटनगरका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाइने छ । मोरङमा स्टक रहेको पाँच हजार आठ सय डोज भ्याक्सिन चैत महिनाभित्र लगाइने निरौलाले बताए ।

