विराटनगर- मोरङको बेग्लाबेग्लै ठाउँमा गय राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । भित्री सडक खण्डअन्तर्गत कटहरी गाउँपालिका–३ मा टिपरले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एक जनाले ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा कटहरी–२ का ३७ वर्षीय बच्चु मल्लिकको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि कोसी अस्पताल विराटनगर पुर्याउनसाथ मल्लिकको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। टिपर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१४ का २८ वर्षीय मुकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा रहेको टिपरले दुर्घटना गराएपछि स्थानीय बासिन्दा आक्रोसित बनेका थिए ।
घटनापछि ढुङ्गामुडा गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरिदिएका छन् । आक्रोसित भीडले तोडफोड गर्दा टिपरको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई भने आक्रमण हुनबाट बचायो । त्यस्तै सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । पूर्व–पश्चिम लोकमार्गमा पूर्वतर्फ जाँदै गरेको को १८ प १८०२ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका सुन्दरहरैँचा–६ का ५६ वर्षीय इन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको डीएसपी राईले बताए ।
दुर्घटनापछि गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक इटहरी–५ का २६ वर्षीय सेवन्तमणि कोइराला पनि गम्भीर घाइते भएका छन् । उनको नोबलेमै उपचार भइरहेको छ । प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

