विराटनगर - भारतसँग ६३ दशमल ४ किलोमिटर खुला सिमाना रहेको मोरङमा सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट्) को सङ्ख्या ११ पुर्याइएको छ । आइतबार मात्रै तीनवटा बीओपी थपिएका छन् । खुला सीमा रहेको मोरङको सिक्टी, धनापट्टि र मीर्चाडाँगी नाकामा स्थापना गरिएका बीओपीको सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरे।
उद्घाटनपछि सबै बीओपी औपचारिक रुपमा सञ्चालनमा आएका छन् । नयाँ थपिएका सबै युनिटमा प्रहरी नायव निरीक्षक (सइ)को नेतृत्वमा टोली खटाइएको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार नयाँ थपिएका सहित मोरङमा बीओपीको सङ्ख्या ११ पुगेको छ । उनका अुनसार यसअघि आठवटा मात्रै बीओपी थिए । दुई देशीय सीमाको सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्रलाई दिइएको छ ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लैजाने र सीमामा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने सरकारको नीति अनुरुप अहिले नयाँ बीओपी थप गरिएको जानकारी पौडेलले दिए । उनका अनुसार स्थानीय सरकारको सहयोग, संसद् विकास कोष तथा जनश्रमदानबाट नयाँ बीओपी सञ्चालनमा ल्याउन सम्भव भएको हो ।
सिक्टी बीओपी सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न संसद् विकास कोषबाट १० लाख तथा सुनवर्षी नगरपालिकाबाट पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको एसपी पौडेलले बताए । स्थानीय समाजसेवी बाजुदिन आलम, मनताज आलम तथा कफिर आलमले बीओपीका लागि १० कट्ठा जग्गा निःशुल्क उपलब्ध गराउनु भएको छ । बीओपी स्थापना भएपछि सीमामा कार्यरत सुरक्षाकर्मीको मनोवल उच्च बनेको पौडेलको भनाइ छ ।
सशस्त्रको प्रदेश प्रमुख बनेर डीआईजी दाहाल आएपछि प्रदेश १ मा नयाँ बीओपी स्थापना तीव्र बनाएर लगिएको हो । प्रदेशका सबै सिमावर्ती क्षेत्रको अवलोकन र निरीक्षण गरिसकेपछि दाहालले नयाँ बीओपी स्थापना, सञ्चालन र जनशक्ति व्यवस्थापनमा सक्रियता बढाएकाछन ।
भारत तथा चीनसँग सीमा जोडिएका नाकामा चालू आर्थिक वर्षभित्र एक सय १४ वटा बीओपी थप गर्दै मुलुकभर सङ्ख्या दुई सय २१ वटा पुर्याउने लक्ष्य सरकारले लिएको थियो । पहिलो चरणमा प्रदेश १ मा नयाँ २२ वटा बीओपी स्थापना भएर सञ्चालनमा आइसकेको दाहालले बताए। प्रदेशमा थपिएका सहित जम्मा बीओपी सङ्ख्या ५१ पुगेको छ । जसमा भारततर्फ ४९ र चीनतर्फ दुईवटा रहेका छन् ।

