विराटनगर- मोरङको रतुवामाई घर भएका दुई जनाको झापाको दमकमा हिजो साँझ ५ः३० बजेतिर टिपरले ठक्कर दिँदा ज्यान गएको छ । तीन जना सवार रहेको मोटरसाइकललाई पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा टिपरले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ –०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर रतुवामाई नगरपालिका–८ का २३ वर्षीय निरन बस्नेत र २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले जानकारी दिए।

मृतकमध्ये बस्नेत मोटरसाइकल चालक हुन् । कोइराला पछाडि बसेका थिए । दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए । बस्नेतको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा साँझ ७ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै उपचारका लागि दमककै लाइफलाइन अस्पताल लैजाँदै गर्दा कोइरालाको बाटैमा मृत्यु भएको हो । मोटरसाइकलको बीचमा रहेका रतुवामाईकै १८ वर्षीय हर्षित बास्तोला गम्भीर घाइते भएको जानकारी डीएसपी कार्कीले दिए ।

उनका अनुसार बास्तोलाको बी एण्ड सी अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनापछि अनियन्त्रित बनेको टिपर सडकको साइडमा रहेको एउटा रुखमा ठोक्किन पुगेको थियो । टिपर ठोक्किएपछि रुख नै भाँचिएको प्रहरीले जनाएको छ । टिपरको अगाडिको भागमा क्षति पुगे पनि चालक भने सकुशल छन् ।

टिपरले ठक्कर दिएपछि मोटरसाइकलमा पनि पूर्ण रुपमा क्षति पुगेको डीएसपी कार्कीले बताए । उनका अनुसार टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि भएको दुर्घटनाबाट जोगिन खोज्दा अर्को मोटरसाइकल पनि अनियन्त्रित भएर दुर्घटनामा परेको छ । अनियन्त्रित भएर को २८ प ११३६ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा दुई जना घाइते भएको कार्कीले बताए ।

दुर्घटनामा परेर उक्त मोटरसाइकलका चालक मोरङको उर्लाबारी नगरपालिका–८ का ४० वर्षीय तुलाराम ढुंगाना र ८५ वर्षीय शिवलाल ढुंगाना सामान्य घाइते भएका छन् । दुवै जनाको दमकस्थित निम्स अस्पतालमा उपचार जारी रहेको जानकारी डीएसपी कार्कीले दिए । कार्कीाँका अनुसार टिपर र टिपर चालक दमक–४ का ४९ वर्षीय प्रकाश तामाङ तथा दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको छ ।