विराटनगर-सुनसरीको धरान र बराहक्षेत्र नगरपालिकामा दुईवटा आधुनिक बंगुर बधशालाको निर्माण सम्पन्न भएको छ । धरान उपमहानगर पालिका ६ पानबारीको भिआरसी मिटमार्ट भित्र १ करोड २५ लाख र बराहक्षेत्र नगरपालिकाको वडा नं ६ मा ५५ लाखको लागतमा आधुनिक बंगुर बधशाला संचालनमा आएका छन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत परियोजना कार्यान्वयन इकाइ सुनसरीको अनुदान सहयोगमा धरान र बराहक्षेत्रमा आधुनिक बंगुर बधशालाको निर्माण सम्पन्न भएका हुन ।
सुनसरीको धरान, ईटहरी, बराहक्षेत्र र रामधुनी नगरपालिका बंगुर जोन भित्र पर्दछन । जहा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बंगुर पालनका लागि किसानलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमका लागि अनुदान दिने गरेको छ ।
धरानमा दैनिक ५ टन बंगुरको मासु खपत हुदै आएपनि आधुनिक बधशाला नहुदा परम्परागत रुपमा नै काटेर मासु बिक्री हुदै आएकोमा त्यसलाई निरुत्साहन गर्न र स्वस्थ्यकर मासु उपभोक्ता समक्ष पुर्याउन १५ लाख परियोजना कार्यान्वयन इकाइको सहयोगमा अत्याधुनिक बधशाला निर्माण भएको हो ।
मानव स्वास्थ्य सँग प्रत्यक्ष असर पर्ने भएकोले बंगुर को मासु स्वास्थ्य सफा उपभोक्ताले उपभोग गर्न पाउने भन्ने उद्देश्य को साथ बंगुर बधशाला निर्माण गरिएको परियोजना कार्यान्वयन इकाई सुनसरीका प्रमुख दिपेन्द्र पोखरेलले जानकारी दिए ।
धरान उपमहानगरपालिकाले धरान उपमहानगर क्षेत्रमा धराने बंगुरको बजारीकरण तथा ट्रेडमार्कको लागी नगर कार्यपालिकाबाट समेत निणर्य र सिफारिश गरेको छ । सुनसरी जिल्लाका बंगुर जोनको क्षेत्रमा पालिएका ब्यवसायिक बंगुर पालक किसानहरुको बंगुर बजारिकरण गर्न र उचित मुल्य पाउन र साथै बंगुरको उचित खपतका लागि बधशालाले किसानलाई सघाएको छ ।
आधुनिक बंगुर बधशालाका संचालक भिआरसी मिट मार्टको संचालक मदनकुमार तामाङले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुनसरी इकाई बाट ५० प्रतिशत अनुदान सहयोगमा वधशाला निमाणर् सहजीकरण भएकोले दैनिक पाँच वटा बंगुर बध गर्ने गरिएको बताए । उनले सुरुमा ३० लाख लगानीबाट शुरु गरेको बधशाला अहिले १ करोड २५ लाखको लगानी भइसकेको बताए ।
त्यसैगरि बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ मा ध्यानबहादुर राईले ५० लाखको लगानीमा एग्री पियोर कृषि फार्म खोलेका छन । जसमा बंगुर काट्ने आधुनिक बधशाला र बजारहरुमा रेफ्रिजिरेटर भ्यानबाट स्वस्थ्य मासु शहर बजारमा पठाइरहेका छन । उनले माइनस २२ डिग्रीको तापक्रममा मासु बजारमा पठाउने गरेका छन । उनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत रेफ्रिजेटर भ्यानका लागि १९ लाख रुपैया अनुदान सहयोग गरिएको हो ।
धरान लगायत सुनसरी जिल्ला भित्रका तरहरा र ईटहरी बजार र भेडेटारमा समेत रहेका बंगुर मासु ब्यवसायहरु लाई सहयोग पुग्ने गरेको र प्रशोधित गुणस्तरीय मासु उत्पादन र बजारीकरणमा आफुले प्रयासरत रहेको ध्यानबहादुरले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई सुनसरीका पशु चिकित्सक डा. रमेश घिमिरेले बधशाला निमाणर्ले पशु बधशाला तथा मासु जाँच ऐन २०५५ कार्यान्वयनमा ल्याउन र अव्यवस्थित बंगुर मासु काट्ने कार्यलाई निरुत्साहित गर्दै सफा एवम स्वस्थ्य गुणस्तरीय मासु उपभोकताले उपभोग गर्नु पाउनु मुख्य उद्देश्य रहेकोले धरानमा आधुनिक बंगुर बधशाला निर्माण सहजिकरण गरीएको बताए ।
परियोजना कार्यान्वयन इकाई सुनसरीका प्रमुख पोखरेलले सुनसरी जिल्लमा बंगुरको मासु ब्यवसाय र उपभोग गर्ने बढी भए पनि अव्यवस्थीत रहेकोले बंगुर जोन लागु भए देखि धरानमा १० वटा बंगुर मासु पसल सुधारका लागि अनुदान समेत प्रदान गरिएको छ ।

