विराटनगर-नेपालमा बार्षिक नौं करोड जोर जुत्ताको माग छ । नेपालमा रहेका जुत्ता चप्पल उद्योगहरुले ५ करोड जोर जुत्ता उत्पादन गर्छन । जुन आम मागको ६३ प्रतिशत हो । सिमानामा कडाई, कम बिजकको समस्या रोक्ने सके नेपाल जुत्ता चप्पलमा आत्मनिर्भर हुने व्यवसायीहरुले बताएका छन ।
एक महिना सम्म चल्ने विराट जुत्ताचप्पल व्यापार मेलाको उद्घाटन कार्यक्रममा व्यवसायीहरुले यस्तो आँकडा प्रस्तुत गरेका हुन । मेलाका संयोजक होमनाथ उपाध्यायले देशभरि रहेका साना ठुला मझौला १५ सय जुत्ता चप्पल उद्योगले बार्षिक ५ करोड जोर जुत्ता उत्पादन गरिरहेको बताए । उनले नेपालमा नौं करोड जोर जुत्ताचप्पलको बार्षिक खपत रहेको बताउदै ६३ प्रतिशत अर्थात ५ करोड जोर जुत्ता चप्पल नेपालमा उत्पादन भएर खपत भइरहेको जानकारी दिए ।
उनले कार्यक्रमको उद्येश्यको बारेमा बताउदै सबै खाले जुत्ताचप्पल उद्योगमा १७ अर्बको बराबरको लगानी रहेको त्यसबाट बार्षिक ३२ अर्ब बराबरको कारोबार गरिरहेको जानकारी दिए । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरेका थिए ।
स्वदेशी उत्पादनको प्रयोग बढाउन सके मुलुक धेरैवटा उत्पादनहरुमा आत्मनिर्भर बन्न सक्ने भएकाले सबैले एउटा एउटा स्वदेशी उत्पादननै प्रयोग गरौं भन्ने अभियान घर,टोल र शहरमा चलाउनु पर्ने मेयर पराजुलीले बताए । नेपालका जुत्ता चप्पल पनि विदेशी भन्दा कम नभएकाले अझ उपभोक्ताको मन जित्न वारेन्टी सहितको बलिया जुत्ता उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे ।
विराट व्यापार संघका अध्यक्ष सुजन थापाले स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्न सके मुलुक समृद्धि तर्फ जाने भएकाले सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर बनाइनु पर्ने उल्लेख गरे । त्यसका लागि उनले मझौला उद्योगहरुले सरकारले घोषणा गरेको कोभिडको महामारीको बेलाको सुविधाहरु नपाएको र सो पाउनु पर्ने बताए ।
फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजना सुरू भएको एक्स्पो चैत ५ देखि बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । व्यापार मेलामा १२ कम्पनीको २० वटा ब्राण्डका ५ हजार जोर जुत्ताचप्पलहरुको बिक्री वितरणमा राखिएका छन । मेला अवधिभर २ लाख ५० हजार जोर जुत्ता चप्पलको कारोबार हुने लक्ष्य आयोजकको छ ।
व्यापार मेलामा जुत्ता चप्पलहरूको खरिदमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । दैनिक २० हजारभन्दा बढी ग्राहकले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन ।

