विराटनगर - सडक मर्मतको माग गर्दै विराटनगर महानगरपालिका–५ शंकरबारीका बासिन्दा आज बिहानदेखि आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि विराटनगर महानगरपालिका र सुनसरीको बर्जु गाउँपालिका जोड्ने सडक मर्मत हुनुपर्ने र सडकमा रहेका खाल्डा पर्नुपर्ने माग गरे पनि सुनुवाई नभएपछि आन्दोलनका लागि सर्वसाधारण सडकमा निस्किएका हुन् ।
आन्दोलनमा उत्रिएका स्थानीयले विराटनगर र बर्जु जोड्ने केसलीया खोलामाथिको पक्की पुलनजिकै विराटनगरतर्फको सडकमा बाँसको ढाट लगाएरै सवारी आवागमन बन्द गराएकाछन । उक्त सडक खण्ड हुलाकी मार्गअन्तर्गतको हो । स्थानीयले तीन घण्टासम्म कुनै पनि सवारी साधन सञ्चालन हुन दिएनन् ।
दैनिक सयौँ सवारी सञ्चालन हुने यो सडक अत्यन्तै व्यस्त रहने गरेको स्थानीय राधेश्याम मेहेताको भनाइ छ । दैनिक विद्यार्थी बालबालिका बोकेर शैक्षिक संस्थाका दर्जनौ सवारी साधन पनि सञ्चालन हुने उनको भनाई छ । व्यस्त रहने सडक खाल्डैखाल्डा भएर धेरै जोखिम बढे पनि समस्या समाधान गर्न कसैले चासो नदिएको उनले बताए । मेहेताले ठूला खाल्डा बनेरसवारी साधन नै फस्ने र दुर्घटनामा पर्ने गरेको सुनाए ।
स्थानीय सनोज मण्डलले सडकबाट उड्ने धुलो भान्सासम्मै पुग्ने गरेका कारण स्थानीय मारमा परिरहेको गुनासो गरे। सडकमा मात्रै दर्जनौँ खाल्डा छन् । खाल्डाका कारण एक सातामा साना तथा ठूला गरेर नौ वटा सवारी साधन दुर्घटनामा परेर मानिससमेत घाइते भएको उनले बताए।
दुर्घटनाले ठूलो मानवीय क्षति नै निम्तिने जोखिम बढ्दै गइरहेको मण्डलको भनाइ छ । स्थानीयले वडा अध्यक्ष मीनकुमार आचार्य, मेयर भीम पराजुली, प्रदेश १ का प्रदेशसभा सदस्य केदार कार्की लगायतका जनप्रतिनिधि र सरोकारवाला निकायलाई पटकपटक आग्रह गर्दा पनि सडकका सम्बन्धमा वास्तै नगरेको गुनासो पोखे । सडक छेकेरै आन्दोलन हुन थालेपछि त्यसलाई हटाउन पुगेको प्रहरीले सडक अवरोध नगर्न आग्रह गरेको थियो ।
वडाध्यक्ष मीनकुमार आचार्यले तत्काल सडक मर्मतको काम अघि बढाइने बताए । विराटनगर महानगरतिर सडक ग्राभेल मात्रै गरिएको छ । त्यो पनि सबै बिग्रिएर कच्चीजस्तै बनेको छ । तर केसलीया खोलाले सिमाना छुट्याएको सुनसरीको बर्जु गाउँपालिकातिर भने कालोपत्रे गरिएको पक्की सडक छ ।

