विराटनगर - विराटनगरको मिल्स एरिया (रानी)मा प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।विराटनगर–१६ मा रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टले पहिलो पटक प्रदेशस्तरीय गोल्डकप गर्ने भएको हो ।

यही चैत ७ देखि १४ गतेसम्म गोल्डकप आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार विराटनगरको फुटबल इतिहासमा मिल्स एरियाको योगदान र पहिचान गराउने उधेश्यका साथै फुटबल खेललाई गतिसिल बनाउँदै लैजानकालागी प्रतियोगिता गर्न लागेको हो ।

नयाँ पुस्तालाई खेलकुदका माध्यमबाट सकारात्मक सोचको  विकास गराउने सभ्य समाज निर्माण गरी सामाजिक दाहित्व बहन गराउने ट्रष्टको लक्ष्य रहेको शाहीले बताए । मिल्स एरियामा रहेको विराटनगर जुट मिलको खेल मैदानमा प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा प्रदेश १ को सशस्त्र प्रहरी बल पूर्वाञ्चल, १ नम्बर प्रदेश प्रहरी कार्यालय, मोरङको उर्लाबारी फुटबल क्लब, मोरङकै विराटनगरको साइनो स्पोट्र्स क्लब, सुनसरी दुहबीको एलेभेन एरोज क्लब, उदयपुरको गाईघाट फुटबल क्लब, सुनसरीको धरान सिटी फुटबल क्लब र झापाको सताक्षीधाम स्पोट्र्स क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँका प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।