विराटनगर -  विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं कांग्रेस नेता अशोक कोइरालाले आज बिहान निधन भएको छ । नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका  ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो ।

उनी संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन । नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए ।

कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तनु रेग्मीका अनुसार चिकित्सकले आज बिहान १ बजेतिर कोइरालालाई मृत घोषित गरेका हुन् ।श्वासप्रश्वासमा समस्या देखिएर असहज महसुस गरेपछि उनलाई उपचारका लागि हिजो बिहान २ बजेतिर अस्पताल लगिएको जानकारी रेग्मीले दिए।

। उपचारका लागि भर्ना गरेको २४ घण्टा पुग्न नपाउँदै कोइरालाले यस संसारबाट सधैँका लागि विदा लिनु भएको छ रेग्मीले भने । अशोक नेपाली राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको कोइराला परिवारका सन्तान एवं नेपालका पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन ।

अस्पतालबाट ल्याएर उनको शव विराटनगर महानगरपालिका–८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं अन्य दलका नेता कार्यकर्ताको भीड लागिरहेको जानकारी सचिव रेग्मीले दिए ।

उनका अनुसार श्रद्धाञ्जलीपछि विराटनगरमा शव यात्रा पनि गरिने छ । त्यसपछि आज बिहान ११ देखि १२ बजेबीचमा विराटनगरकै सिंघीया घाटमा कोइरालाको अन्त्येष्टि हुने रेग्मीले बताए  । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी रहेकाछन् ।