विराटनगर–आर्थिक बर्ष २०७७÷२०७८ को पहिलो ६ महिनामा विराटनगर नाकाबाट चामलको आयात गत आव पहिलो छ महिनामा भन्दा झन्डै दोब्बर आयात भएको छ । चालु आवको पुस मशान्त सम्मको विराटनगर नाकाबाट १ अर्ब ३२ करोड ४४ लाख मूल्य बराबरको ३० हजार ८ सय ६४ मेट्रिक टन चामल भित्रीएको छ । जबकी गत आवको पहिलो छ महिनामा ७३ करोड ३० लाख मूल्यको १६ हजार ८ सय ३३ चामल आयात भएको थियो ।
नेपालमा धान उत्पादन हुने समयमा नै चामलको आयात बढेको तथ्यांकले देखाएको छ । भन्सार कार्यालयले धान आयात गर्दा कृषि सुधार शुल्क ५ र चामलको आयातमा ९ प्रतिशत तिर्नुपर्छ । यो शुल्क सस्तो भएकाले व्यवसायीहरू धान आयात गरेर चामल उत्पादन गर्नुभन्दा उत्पादित चामल नै नेपाल पैठारी गर्ने गरेका छन । जुन चामल नेपालमा आएपछि प्याकेजिङ र ब्रान्डिङ गरेर बिक्री गरिदै आएको छ ।
धान–चामल मिलका सञ्चालकहरूले लामो समयदेखि कच्चा पदार्थ धान र तयारी पदार्थ चामलको आयात शुल्कमा दुई तहको अन्तर हुनुपर्ने माग गर्दै आएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा चामलको मात्र नभई विराटनगरनाकाबाट गहुँ, मकै, र धान आयात बढेको देखिएको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विराटनगर नाका हुँदै ३ करोड १७ लाख मूल्यको ९ हजार ५ सय ४४ गहुँको आयात गरिएकोमा चालु आवको सोही अवधिमा झन्डै ४ गुणाले वृद्धि भएर १ अर्ब १९ करोड ६२ लाख मूल्यको ३६ हजार ८ सय ५३ मेट्रिक टन गहुँ आयात भइसकेको छ ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले मैदा र पिठोको आयातमा ९ प्रतिशत र गहँुमा लाग्दै आएको कृषि सुधार शुल्कलाई ५ प्रतिशतबाट बढाएर ९ प्रतिशत पु¥याएपछि उनको विरोध भएको थियो । कच्चा पदार्थ र तयारी वस्तुको आयात शुल्क समान हुन नहुने व्यवसायीको भनाई थियो । अर्थमन्त्री खतिवडाले आफू अमेरिकाको राजदूत भएर जाने बेलामा २०७७ असोज १५ गते उक्त शुल्कको निर्णयलाई सच्याएर साबिकको ५ प्रतिशत नै बनाएका थिए । जसको कारण गहँुको आयात बढेको हो ।
‘गहुँको आयात शुल्क सच्चिएपछि प्रशस्त आयात भएको देखिन्छ,’ शारडा ग्रुप अन्तर्गतको मैदा उद्योग न्युट्री फुड प्रालिका सञ्चालक प्रदीप शारडाले भने, ‘गहुँको कृषि सुधार शुल्क ९ प्रतिशत नै रहेको भए ढिलो चाँडो यही वर्ष धेरै मैदा उद्योग बन्द हुने थिए । सरकारले निर्णय सच्याएर मैदा मिललाई ब्रिदिङ स्पेस दिएको छ । नुडल्स, चाउचाउ र बिस्कुट उद्योगले भारतबाट मैदा नै पैठारी गर्न थालिसकेको अवस्था पनि थियो ।’
चालु आवको पहिलो ६ महिनामा मकै पनि गत आवको भन्दा झन्डै ४ गुणाले वृद्धि भएको छ । गत आवको पहिलो ६ महिनामा विराटनगर नाका हुँदै १ अर्ब १३ करोड १० लाख मूल्यको २९ हजार ५ सय ११ मेट्रिक टनले आयात गरिएको मकै चालु आवको सोही अवधिमा २ अर्ब ९७ करोड २७ लाख मूल्यको १ लाख १७ हजार ६ सय १८ मेट्रिक टन ल्याइसकिएको छ ।
मदिरा उद्योगहरूले मदिरा बनाउनका लागि कनिका (कुड्के चामल)को ठाउँमा मकैको प्रयोग गर्न थालेपछि मकैको आयात बढेको हो । भन्सार कार्यालयको पुस मसान्तसम्मको तथ्यांकले धानको पनि आयातमा वृद्धि भएको देखाएको छ । गत आर्थिक वर्षको पुस मसान्त सम्ममा १ अर्ब ३३ करोड ३२ लाखको ३८ हजार ४ सय ५२ मेट्रिक टन धानको आयात भएको थियो ।
अघिल्लो बर्षको तथ्यांकलाई उछिन्दै चालु आवको दोस्रो त्रैमासिक अवधिमा १ अर्ब १० करोड २७ लाख मूल्यको ४० हजार २ सय ११ मेट्रिक टन धान आयात गरिएको छ । भारतमा धानको उत्पादनमा वृद्धि भएर गत आर्थिक वर्षको भन्दा सस्तो मूल्य भएकाले धानको आयातको परिमाणमा वृद्धि भए पनि मूल्यमा भने वृद्धि भएको छैन ।

