विराटनगर - प्रहरीले मोरङको जहदाबाट ठूलो परिणामको मदिरा नियन्त्रणमा लिएर एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालबाट भारततिर तस्करी गर्न ठिक्क पारिएको अवस्थामा मदिरा बरामद गर्दै प्रहरीले तस्करीमा संलग्न भारत मटियारीका ३२ वर्षीय शिवलाल रायलाई आज बिहान पक्राउ गरेको हो ।

जहदा गाउँपालिका–१ स्थित लङ्का टोलबाट विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरासहित रायलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। तस्करी हुने गरेको सूचनाका आधारमा जहदा –१ का रमेश यादवको घरमा छापा हान्न प्रहरीको विशेष टोली बिहान १ः३० बजेतिर पुगेको थियो । प्रहरीलाई देख्नसाथ फरार बनेका यादवको खोजी भइरहेको राईले बताए ।

प्रहरीले मदिरा तस्करीमा प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको एउटा कार र चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । नेपालमा उत्पादन हुने चर्चित ब्राण्डका र महँगो मूल्य पर्ने ‘सिलप्याक’ मदिरा भारत तस्करी हुने गरेको पाइएपछि सीमा क्षेत्रमा कडाई गरिएको राईको भनाइ छ । यादवको घरबाट प्रहरीले सिग्नेचर, गोर्खा स्ट्रङ बियर, सोफी, उमङ्ग, ब्ल्याक ओके लगायतका चर्चित ब्राण्डका महँगा मदिरा बरामद गरेको छ ।

  विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरा सात लाख मूल्य बराबरको रहेको जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए । नियन्त्रणमा लिइएको तस्करीको मदिरा र सवारी साधन तथा पक्राउ परेका रायलाई प्रहरीले आवश्यक कारबाहीका लागि आज आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउने बताएको छ । यादवले मदिरा बेचबिखनका लागि कुनै पनि इजाजत लिएको नपाइएको प्रहरीले जनाएको छ ।

बिना इजाजत ठूलो परिणाममा ब्राण्डेड मदिरा खरिद गरेर उनले तस्करीमार्फत भारत लैजाने गरेको पुष्टि भएको एसपी खड्काले बताए ।  नेपालबाट अवैध रुपमा ‘ब्राण्डेड’ मदिरा तस्करी गरेर बिहारतिर पुर्याएर बिक्री गर्ने गरिएको पुष्टि भएपछि तस्करी नियन्त्रण गर्न एसपी खड्का आफै सक्रिय भएर लागेकाछन । उले अवैध आयात र निर्यातलाई रोक्न विशेष अभियान चलाएका छन । नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाउन र मदिरा लगायतका वस्तुको तस्करी रोक्न २४ घण्टा नै विशेष टोली परिचालन गरेर एसपी खड्का आफै खटिन थालेकाहुन ।