विराटनगर– प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले प्राणी लगायतका जीवहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले बयसका लागि बजेटको प्रवन्ध गर्ने समेत बताए ।
नेपाल जुलोजिकल सोसाईटी प्रदेश १ ले आज विराटनगरमा आयोजना गरेको गोष्ठिमा मन्त्री कार्कीले प्राणीशास्त्रीले अनुसंधान गरेका प्राणी लगायतका जीवहरुको प्रतिवेदनहरु आफुमा मात्र सिमित नराखी समाज सहित अन्य क्षेत्रमा प्रसार गर्न आग्रह गरे । उनले अनुसन्धानका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरि सोही अनुसार अघि बढ्ने बताए ।
मन्त्री कार्कीले प्राध्यापकहरुलाई आफ्नो क्षेत्रमा अब्बल हुनका लागि अनुसंधानमा ध्यान केन्द्रीत गर्न आग्रह गरे। उनले प्रदेश सरकारले ‘ओपन जु’ को अवधारणा अघि सारेको बताए । ओपन जुका लागि स्थान छनौटको लागि तयारीको काम भईरहेको जानकारी दिए। मन्त्री कार्कीले भने,‘झापा, मोरङ, सुनसरी र उदयपुर मध्ये एक जिल्ला छनौट गरिने छ ।’
कार्यक्रममा डा. आशिषकुमार घोष, प्रा.डा. राधाकृष्ण खेरवार, योगेन्द्रनारायण दास, प्रा.डा. रामबहादुर थापा, प्रा.डा. कालुराम राई, शुशिलकुमार झा, डा. भरतराज सुब्बा, डा. शिवनारायण यादव, राजेन्द्रप्रसाद यादव, मीनाकुमारी देवलाई मन्त्री कार्कीले सम्मानित गरे । प्रदेश स्तरिय गोष्ठिमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, प्रा.डा. रामबहादुर थापाले मन्तव्य व्यक्त गरे ।

