विराटनगर-कोरोना महामारीको कारण थला परेको अर्थतन्त्रलाई राष्ट्रबैंकको मौद्रिक नीतिले चलायमान बनाएको राष्ट्रबैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन । उनले नीजि क्षेत्रको सहयोगका कारण अर्थतन्त्र चलायमान हुन सकेको बताउदै नीजि क्षेत्र अर्थतन्त्रको ‘ब्याकबोन’ भएको उल्लेख गरे । 

उद्योग संगठन मोरङको ४८ औं साधरण सभालाई उद्घाटन सम्बोधन गर्दै गर्भनर अधिकारीले शुक्रबार विराटनगर उक्त कुरा बताएका हुन । अन्य मुलुकको तुलनामा हाम्रो अर्थतन्त्रको ‘रिकभरि स्टाटस’ राम्रो रहेको बताउदै अधिकारीले सात महिनामा ५७७ अर्ब कर्जा प्रवाह भएको र ५ खर्ब निक्षेप संकलन भएकाले अर्थतन्त्र चलायमान छ भन्ने पुष्टिहुने उल्लेख गरे । 

कोरोनाको सुरुको समयमा कसरी ऋण तिर्ने, किस्ता कसरी बुझाउने उद्योगी, व्यवसायीहरुलाई ठुलै तनाव भएको र केहीले आफुसंग फोनमा अब आत्महत्याको विकल्प नभएको समेत सुनाएकाले राष्ट्रबैंक र नीजि क्षेत्रको सहयोग सल्लाहबाट मौद्रिक नीति ल्याएर कार्यान्वयन गर्न समेत सफल भएको गर्भनर अधिकारी सुनाए । 

सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ आकांक्षालाई पुरा गर्न राष्ट्रिय योजना आयोगले काम गरिरहेको भएपनि नीजि क्षेत्र उद्योग बाणीज्य महासंघले उठाएको ‘भिजन ३०’ र नेपाल उद्योग परि संघले अघि सारेको ‘मेक इन नेपाल’ जस्ता खाकाले आफुहरुलाई त्यसतर्फ घच्घच्याइरहेको गर्भनर अधिकारीले बताए । 

हिजो १६ प्रतिशत रहेको ब्याजदर आज ९ प्रतिशतमा रहेकाले नीजि क्षेत्रले बैंकीङ सिस्टमलाई भरपुर प्रयोग गरिदन आग्रह गरे । अहिले युवा उद्यमीहरुको प्रवेशले पहिलेको नीजि क्षेत्रको काम गर्ने पुरानो शैलीमा समेत फरक आएको र युवाहरुको प्रवेशले भ्रष्टचारमा समेत कमी आउनेमा आफु विश्वस्त रहेको बताउदै पहिलेको जस्तो यूवा पुस्तामा ‘लप्पन छप्पन’ नभएको गर्भनरले बताए । 

कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले प्रधानमन्त्रीले आफुलाई पटक पटक ‘समृद्ध नेपाल सुखी नेपालीका’े अभियान कहाँ पुग्यो भनेर जिज्ञासा राख्ने गरेको बताउदै नीजि क्षेत्रले सम्मान पाउन सके मात्र यो अभियानले सार्थकता पाउने बताए । 

उनले आफुले पहिले एउटा उद्योगीको रुपमा मन्त्रालय धाउदा, मन्त्री हुदा र अहिले प्रधानमन्त्रीको सल्लाहाकार हुदा गरि सबै किसिमले निजी क्षेत्र र व्यूरोक्रेसीलाई बुझ्ने मौका पाएकाले सोही बमोजिम प्रधानमन्त्रीलाई सल्लाहा दिने गरेको बताए । उनले नीजि क्षेत्रलाई अपमानित र तिरस्कृत गरेर मुलुक बन्न नसक्ने बताउदै मुलुकभरिका कर्मचारीलाई आग्रह गर्दै भने‘देश समृद्ध बनाउन नीजि क्षेत्रलाई सम्मान गर्नोस ।’केही गलत कर्मचारी र केही नीजि क्षेत्रका बदमासीको कारण उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै गलत भएको बताए ।  आफु सहि भए कही पनि झुक्न नपर्ने भएकाले सहि काममको पछि लाग्नु पर्ने बताउदै कर्मचारीले एउटा सानो कामको लागि उद्योगी व्यवसायीलाई तीन तीन महिना झुलाउने काम बन्द गर्नु पर्ने बताए । 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाले थलिएको अर्थतन्त्रलाई कम ब्याजदर र तरलतालाई व्यवस्थापन गर्न सकेकाले अन्य मुलुकको तुलनामा हाम्रो अर्थतन्त्र तंग्रिन सकेको बताए । पर्यटन, साना मझौला व्यवसायीलाई अहिले पनि समस्या रहेकाले उनीहरुलाई पन िपुनरकर्जामा समेटेर अघि बढ्दा ती क्षेत्रपनि चलायमान हुने बताए । 

नेपाल उद्योग बाणिज्य महासंघले १० बर्षमा १०० बिलियन डलर आर्जन र २२ लाखलाई रोजगारी दिन कसरी सकिन्छ भन्नेमा आफुहरु लागि परेको अध्यक्ष गोल्छाले बताए । त्यसका लागि आपुहरुले कृषि, उद्योग र सेवा क्षेत्र सहित १० क्षेत्रलाई छनौट गरेको र १०० वटा सुझाव बनाएको उल्लेख गरे । उनले चैत मशान्त भित्र आफुहरुको भिजन सार्बजनिक गरिने बताए । सरकार र नीजि क्षेत्र मिलेर अघि बढेमात्र समृद्धि सम्भव भएको बताउदै गोल्छाले भने‘अब वित्तिय संस्था मात्र होइन सोच पनि मर्ज गरौं र अघि बढौं ।’आफुहरुले जहिले पनि सतही कुरा गरेको भन्ने आरोपको खण्डन गर्दै उनले आफुहरुले पनि अर्थ विज्ञहरु र आफ्ना सबै नेटवर्कहरुमा सल्लाहा गरेर नै भिजन ३० तयार गरेको बताए । 

नेपाल उद्योग परि संघका अध्यग सतिस कुमार मोरले राष्ट्र बैंकले ल्याएको २० प्रतिशतको पुनरकर्जा नीतिले नीजि क्षेत्रको आँशु पुछ्ने काम गरेपनि थलापरेको पर्यटन क्षेत्रलाई उकास्ने कार्यक्रम ल्याउन गर्भनरसंग आग्रह गरे । नीजि क्षेत्रसंग विश्वासको बातावरण बनेमा मात्र मुलुक समृद्धि तिर अघि बढ्ने उनले बताए । 

नेपाल चेम्बर अफ कमर्शका कावा अध्यक्ष राजेश मल्लले आफुहरुले उधारोमा कारोवार गरिरहनु परेको त्यसलाई नगदमा गर्दा २ प्रतिशत नाफामा गर्न सकिएपनि उद्यारोमा कारोबार गर्दा २५ प्रतिशत बढी व्यायभार पर्ने बताए । त्यसैले नगद कारोबारलाई प्रोत्साहन गर्न उधारोलाई निरुत्साहन गर्न मौद्रिक नीतिमै व्यवस्था हुनु पर्ने माग उनले गरे । 

नेपालीलाई खान पुग्ने गरि अन्न फलाउने नीति आउनु पर्ने र बाहिरबाट ल्याएर खाने उपभोगबादी नीतिलाई निरुत्साहित गर्नु पर्ने मल्लले बताए । उनले डिजिटल भुक्तानीलाई राष्ट्रबैंकले नै केही प्रतिशत छुट दिने व्यवस्था गरेर प्रोत्साहित गर्नु पर्नेमा जोड दिए । 

भारतको नेपालको सप्तकोशी नदीमा संचालन हुने जलयात्रा शुरु हुन सके अहिले ढुवानीमा लाग्दै आएको शुल्कमा १५ प्रतिशत सम्म सस्तो हुने भएकाले त्यसबाट यहाको उद्योगी व्यवसायी क्षेत्रले लाभ लिन सक्ने र विराटनगर व्यापारको हब हुने उनले बताए । 

कार्यक्रममा पूर्व अध्यक्ष शुशिल धनावत र मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नयाँ आउने नेतृत्वलाई अग्रिम शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार, उद्योग संगठन मोरङ आवद्ध कर्मचारी, र आर्थिक क्षेत्रमा योगदान दिनेहरुलाई सम्मान गरिएको थियो ।