विराटनगर - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतिय माध्यमको प्रयोगले सुशासन कायममा ठूलो सहयोग पुग्ने बताएकाछन ।विराटनगर– ११ स्थित नयाँ सब्जी, फलफूल तथा गुद्री बजारमा एनएमबी बैंकले ‘क्युआर कोड’ सेवाको शुक्रबार उद्घाटन गर्दै अधिकारीले डिजिटल माध्यमको सहयोगले पारदर्शितामा सहज पुग्ने बताए ।
व्यापारीसँगै सेवाग्राहीलाई नगदरहित कारोबारमा बानि पार्नसक्दा पारदर्शितासँगै नोट छपाईमा राज्यको ढुकुटी खर्च गर्नुनपर्ने उनको भनाई छ । ‘क्यासलेस गर्न नसकिएपनि लेस क्यास गर्न सकिन्छ,’ उनले भने, ‘देशभरका तरकारी बजारमा यो सुविधा चालु आर्थिक वर्ष भित्र पुर्याउने लक्ष्य राखिएको छ ।’
क्युआर भुक्तानी गर्दा विदेशमा कुनैपनि पैसा नजाने अर्थात भिसा र मास्टरकार्डको प्रयोग गर्दा विदेश जाने रकम देशभित्रै सुरक्षित गर्न सकिने भएकोले सबैले सचेततापूर्वक क्युआर कोडको सेवा विस्तार र सुविधा उपयोग गर्नुपर्ने सुझाव गभर्नर खतिवडाको छ ।एनएमबी बैंकले विराटनगरको गुद्री बजारमा क्युआर कोड सेवा विस्तार गरेसँगै सब्जी, फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिले इन्टरनेटको प्रवन्धका लागि समेत सहकार्य गरिदिन माग गरेको छ ।
एनएमबी बैंक विराटनगर शाखाका प्रमुख प्रकाश घिमिरेले नगदरहित कारोबारतर्फ नागरिकलाई आकर्षित गराउने र डिजिटल नेपाल स्थापनामा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकको नीति अनुरुप एनएमबी बैंकले सेवा सुरु गरेको बताए ।
यसैबिच विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।
आज राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । के एन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी हुनेछ ।

