विराटनगर  - मोरङ उर्लाबारीका एक युवाको हत्या आरोप लागेका छ जना पक्राउ परे पनि पाँच जनालाई मात्रै अदालतमा पेस गरिएको छ । उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा जोडिएका झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दिपेश पौडेल मात्रै अदालत उपस्थित गराउन बाँकी रहेका हुन् ।

प्रवीणको हत्या गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत मोरङमा यसअघि नै कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । तर उनी अहिले पनि झापा प्रहरीको नियन्त्रणमा छन् । मोरङ प्रहरीको नियन्त्रणमा नरहेका कारण दिपेशलाई अहिलेसम्म अदालतमा लैजान नपाइएको हो । मोटरसाइकल चोरीको घटनामा उनीविरुद्ध झापाको दमकस्थित इलाका प्रहरी कार्यालयले अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको पाइएपछि दिपेशलाई फागुन १८ गते सप्तरीबाट पक्राउ गरेर दमक ल्याइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले बताए। उनले चोरी मुद्दामा अनुसन्धान सकिनसाथ दिपेशलाई जिल्ला अदालत मोरङमा दर्ता भएको कर्तव्य ज्यान मुद्दाको बाँकी प्रक्रिया अघि बढाउन मोरङ प्रहरीको जिम्मा लगाइने जानकारी दिए । झापाबाट प्रहरीले बुझाएपछि मोरङ ल्याएर दिपेशलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिने जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएकाछन ।

प्रहरीले बुझाएपछि  बयान लिने र कानुन व्यवसायीबीच थुनछेक बहस भएर उनका सम्बन्धमा अदालतले आदेश दिने छ । प्रवीण मृत्यु प्रकरणका मुख्य अभियुक्त झापाको दमक घर भई उर्लाबारी–६ मा बस्दै आएका ३२ वर्षीय राजेश रणपहेलीलाई मोरङ अदालतले गत मंगलबार नै पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ । प्रवीण मृत्यु प्रकरणमा छ जनाविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ ।

पाँच जना प्रतिवादीलाई यसअघि नै प्रहरीले पक्राउ गरेर अदालतमा बुझाइसकेको छ । मुद्दामा राजेश र दिपेशसहित मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी– ६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये अदालतले राजेश, मेहरमान र सुदीपलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ ।

अदालतले धरौटीवापत मागेको तीन लाख रुपैयाँ बुझाएर कुमार र एक लाख रुपैयाँ बुझाएर रमेश छुटिसकेका छन् । आफ्ना साथीहरु भाडामा बस्ने गरेको उर्लाबारी–६ स्थित रमेश गिरीको घरमा सुत्न गएका प्रवीणको शंकास्पद मृत्यु भएको अवस्थामा गत पुस ५ गते शव भेटिएको थियो ।