विराटनगर- १२ बर्ष अघि कोशीनदीले पूर्वी तटबन्ध भत्काएर उठिबासलाएको बगरमा पटेर बाहेक अरु केही छैन । किसानहरुले त्यहाको बालुवा झिकेर न खेती लगाउन सके न त त्यसबाट कुनै आम्दानी नै लिन सके । आरक्षबाट आएका जंगली हात्ती र बदेल लुक्ने पटेर घारीमा अहिले धमाधम माछा पोखरी खनिन थालेका छन । खेर गएको जमिनमा माछा पोखरी खनेर त्यसलाई कृषि पर्यटनसंग जोड्ने योजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुनसरीले सुरु गरेको छ । 

कोशी गाउँपालिकाको वडा नं. ३ को सदानन्द राउतको दुई विगा जमिनबाट पटेर हटाएर त्यसमा ३ वटा पोखरी निर्माण गरिएको छ । यसरी नै वडा नम्बर ३ का खेर गएका ५० विगा जमिनमा थप पोखरीहरु निर्माण गर्ने योजना रहेको परियोजना कार्यान्वयन इकाइ प्रमुख दिपेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगर्त प्रति कठ्ठा पोखरी खनाए वापद किसानलाई दशहजार रुपैयाँ अनुदान दिइदै छ । 

सुनसरीलाई माछामा आत्मनिर्भर बनाउन दुई बर्षदेखी नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माछा जोन संचालन गर्दै आएका छन ।  कोशी गाँउपालिका वडा नं ३ मा मत्स्य क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत माछा जोन र कोशी गाँउपालिकाको समन्वयमा नयाँ पोखरी निर्माण कार्य शुरुवात भइसकेको छ । खेर गएको कोशी ३ को पटेरघारी जग्गालाई उत्पादकत्व तथा कृषकहरुको आर्थिक अवस्था सुधार गर्नलाई उक्त क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न महत्व दिइएको र अहिले सदानन्द राउत २ विगाहा खेर गईरहेको जग्गामा ३ वटा नयाँ पोखरी निर्माण सम्पन्न गरिएको छ । 

सुनसरी जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आर्थिक बर्ष २०७५/०७६ देखी संचालनमा आएको सप्तकोशी माछा जोन संचालन समन्वय समितिका संयोजक मुक्तिराम राईले बताए । जिल्लाको बराहक्षेत्र नगरपालिका र रामधुनि नगरपालिकाका सबै वडाहरु तथा ईनरुवा नगरपालिका वडा नं ३ र कोशी गाउँपालिका वडा नं ३ माछाजोन भित्र पर्छन ।

माछा उत्पादन तथा उत्पादकत्वमा बृद्धि साथै कृषि उत्पादनमा आत्मनिर्भर बनाउदै अयातित माछा बजार बिस्थापित गरी सुनसरी जिल्लालाई माछा उत्पादन र बजारीकरणमा आत्मनिर्भर बनाउने उदेश्यका साथ माछा जोन संचालन रहेको संयोजक राईले खुलाए । जिल्लामा उत्पादित माछाले जिल्लाको करिब ८ महिनामात्र माग थाम्ने र बाँकी ४ महिना प्रदेश २ का जिल्लाहरुबाट आपूर्तिहुने गरेकोमा माछा जोनले कोशी ३ मा खेर गएको जग्गमा नयाँ पोखरी निर्माण गरेकोले आपूर्तिमा केहि राहत दिने भेटेरिनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख राजेन्द्र शाहले बताए ।

कोशी गाउँपालिका क्षेत्रको खेर गएको जमिनलाइ समेटी पोखरी निर्माण गरी मत्स्य पालन गर्दा कृषकको जिवनस्तरमा परिवर्तन र आर्थिक उन्नतीका साथै जल पर्यटकिय स्थल बन्ने सम्भावना रहेको प्रमुख पोखरेलले बताए । माछा जोन सुनसरीमा आबद्ध कृषकहरुलाई आधुनिक उन्नत प्रविधी उपलब्ध गराउनको लागि संचालन भइरहेका बिभिन्न कार्यक्रमबाट धेरै मत्स्यपालक कृषक तथा उद्यमी लाभान्भित भएका छन ।