विराटनगर-झापा र सुनसरीमा बिहिबार राति भएका सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।
धरान-इटहरी सडक खण्ड अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका-८ तीनकुनेमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इटहरीको तरहरा घर बताउने अन्दाजी ७० वर्षीय डिल्लीराम दाहालको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
सवारी साधनको ठक्करबाट सडकमा लडिरहेको फेला पारेर दाहाललाई प्रहरीले उद्धार गरि उपचारका लागि लागि प्रतिष्ठान लगेको थियो । उद्धार गर्दा नाक र दाहिने हातबाट रगत बगिरहेको थियो । प्रहरीले ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको जानकारी दिएको छ ।
त्यस्तै पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत झापाको दमक नगरपालिका-५ मा मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । पश्चिमतर्फ आउँदै गरेको प्र १-०१-१३ प ७६६ नम्बरको मोटरसाइकल र पूर्वतर्फ जाँदै गरेको मे ९ प ६२१९ नम्बरको स्कुटर एकआपसमा ठाक्कर खाँदा दुर्घटना भएको हो ।
राति ९ बजेतिर भएको दुर्घटनामा परेर स्कुटर चालक दमक-८ का ५० वर्षीय इन्द्र भुजेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लाइफलाइन अस्पतालमा ९ः४५ बजेतिर ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परेर मोटरसाइकल चालक दमक-४ का २५ वर्षीय संजोग सुन्दास गम्भीर घाइते भएका छन् । उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले तीव्र गतिका कारण भएको दुर्घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।
