विराटनगर -  विराटनगर ५ भृकुटी चौकमा रहेको मेरिल्याण्ड कलेजले विद्यार्थीलाई ठग्ने गरेको खुलाशा भएको छ । मेरिल्याण्ड कलेजमा अध्यापन हुँदै आएको वीवीएमले भारत लगायतका देशमा मान्यता नपाउँदा विद्यार्थीले थप अध्ययन अगाडी बढाउन नपाउने भएपछि विद्यार्थी अन्यौलमा परेका हुन ।

सन् २०१४ मा मेरिल्याण्ड कलेजबाट वीए अनर्श विजनेश म्यानेजमेन्ट (वीवीएम) गरेकी  विराटनगरकी नितिका अग्रवालले भारतमा थप अध्ययन गर्न नपाएपछि मेरिल्याण्डले विद्यार्थीलाई ठग्ने गरेको खुलेको हो । उनले भारतको एक विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिएर पठन पाठन शुरु गरेपनि वीवीएमको इक्युभ्यालेन्ट भारतको एशोसिएन्सन अफ इन्डियन युनिर्भसीटी ( एआईयु) ले नदिएको अग्रवालले बताईन ।

उनका अनुसार मेरिल्याण्डको वीवीएम डिग्रीले भारत लगायतका विदेशी मुलुकमा मान्यता नदिएका कारण इक्युभ्यालेन्ट सर्टिफिकेट पाईनन । इक्युभ्यालेन्टका लागि कलेजलाई बारम्वार भन्दा पनि कलेजले हुन्छ भन्ने गरेको तर काम नभएको उनले बताईन । अग्रवालले भनिन्,‘ पछिल्लो २–३ महिनादेखि कलेजले मेल र फोन नै रेस्पोन्स गर्न छाड्यो ।’ इक्युभ्यालेन्टका लागि धेरै पटक प्रयास गर्दा पनि नभएपछि दोश्रो समेस्टर पुगेपिछि बाध्य भएर नेपाल फर्कीएको उनले गुनासो गरिन । उनले भनिन्, ‘इक्युभ्यालेन्टका लागि आवेदन गरेकी थिए रिजेक्सन लेटर आएपछि थप अध्ययन गर्न पाईन ।’

मेरिल्याण्ड कलेजका प्रमुख कार्यकारी अधिकृत ऋषिकेश वाग्लेले चिन्ता नगर हुन्छ मात्र भन्ने गरेको तर, काम नगरेको अग्रवालले बताईन । अग्रवालका अनुसार अन्य साथीहरु पनि मेरिल्याण्ड कलेजका कारण समस्यामा परेका छन् । मेरिल्याण्ड कलेजका प्रमुख कार्यकारी अधिकृत वाग्लेले विद्यार्थीले आरोप मात्र लगाएको बताए । उनले नितिका अग्रवालको समस्या समाधान हुने बताए । वाग्लेले त्यस्तो नभएको र आफ्नो मिडियामा लेखे हुने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

यसैवीच मेरिल्याण्ड कलेजका संस्थापकले स्वामित्व अर्कै संस्थामा हस्तान्तरण गरेको जनाएका छन् । विराटनगर ५ मा यसअघि मेरिल्याण्ड कलेजका नाममा सञ्चालित शैक्षिक गतिविधि अर्कै कलेजलाई हस्तान्तरण गरिएको एक सञ्चालकले बताए । उनले भने,‘ अहिले सञ्चालित शैक्षिक गतिविधि मेरिल्याण्ड कलेजको हैन ।’