विराटनगर -  झापास्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षा मन्त्रालयले अधिकार क्षेत्रबाहिर गएर स्वास्थ्य मन्त्रालयअन्तर्गतको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौ विश्वविद्यालयबीच सम्झौता गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १८ गते एउटै सञ्चालक रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनपछि काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउने बचन दिएकाथिए । त्यसअघि नै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले केयु सभामा ठाडो प्रस्ताव लगेर बिएन्डसीलाई सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गराएकाथिए ।

बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं हुन । शिक्षामन्त्री श्रेष्ठले बुधबार शिक्षा मन्त्रालयमा बिपी प्रतिष्ठान धरानका उपकूलपति डा. ज्ञानेन्द्र गिरी र काठमाडौं विश्वविद्यालयका उपकूलपति डा. भोला थापालाई बोलाएर समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गराएकाछन । मन्त्रीले समझदारीपत्रमा हस्ताक्षर भएको विषय गोप्य राख्न मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन ।