विराटनगर-  सर्वाेच्च अदालतको परमादेशपछि माओवादी केन्द्र र नेकपा एमाले अलग–अलग पार्टी भएको पत्र प्रदेश १ को प्रदेशसभा सचिवालयमा आइपुगेको बताइएको छ ।


निर्वाचन आयोगले हिजो नेकपाको दर्ता खारेज गर्दै माओवादी केन्द्र र एमाले छुट्टाछुट्टै अस्तित्वमा रहने निर्णय गरेको थियो । आयोगको निर्णयसहितको पत्र आज बिहान प्रदेशसभा सचिवालयमा आईपुगेको छ ।


प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले पत्र आएको जानकारी दिए । पत्र आएपछि प्रदेशसभाभित्रको बैठक कक्ष पनि परिवर्तन गर्नुपर्ने बताईएको छ ।यसअघि सत्ता पक्ष र प्रतिपक्षी काङ्ग्रेस बस्ने छुट्टाछुट्टै कक्ष रहेको थियो । नेकपा विभाजनले आधिकारिता नपाउँदा यसअघिको बैठकमा नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्ष सत्ता पक्षकै क्षेत्रमा बस्ने गरेका थिए । दुईवटा दल अस्तित्वमा रहेको पत्रपछि बैठक हलभित्रको कुर्सी मिलाउने तयारी भएको सचिव पराजुलीले बताएकाछन ।