विराटनगर - सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगर झिकाउँदै सीमा नाका कटाएर भारततर्फ लैजान खोज्दै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगर रहेका छन् ।
उनीहरुलाई प्रहरीले विराटनगर–१६ दक्षिण गेटबाट नियन्त्रणमा लिइएको हो । दुवै जनाविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार राम्रो कमाईको प्रलोभन दिएर काममा लगाइदिने बहानामा महिलालाई झुक्याएर भारततिर लैजान लागेको पाइएपछि तामाङ र मगरलाई पक्राउ गरिएको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २३ र ३१ वर्षीया दुई महिलालाई पनि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेको छ ।
तामाङ थरका दुवै जना जना महिलाले भारतमा लगेर धेरै पैसा कमाई हुने राम्रो काममा लगाइदिने भन्दै आफूहरुलाई काठमाडौंदेखि बस चढाएर विराटनगर ल्याइएको बताएका छन् । ‘पारिवारिक आर्थिक अवस्था कमजोर भएका दुवै महिला लामो समयदेखि कामको खोजीमा रहेछन्,’ डीएसपी राईले भने, ‘त्यसको सुइँको पाएको गिरोहले प्रलोभन देखाउँदै विराटनगर ल्याएर भारत पुर्याउने योजना बनाएको खुलेको छ ।’ राईका अनुसार दुवै जना काठमाडौंबाट बस चढेर फागुन २० गते दिउँसो ३ बजेतिर विराटनगर बसपार्क आइपुगेका हुन् । उनीहरुलाई २१ गते भारत पुर्याउन खोजेको पाइएको उहाँको भनाइ छ । महिलाहरुलाई भारततर्फ लैजान काजीले प्रेमबहादुरको सहयोग मागेको खुलेको प्रहरीको भनाइ छ ।
महिलाले भने काठमाडौंबाट बसमा चढाइदिने र विराटनगर बसपार्कमा लिन आउने कसैलाई पनि आफूहरुले नचिनेको बताएका छन् । नचिनेको नम्बरबाट फोन गरेर आफूहरुलाई बोलाइएको र एक जना व्यक्तिले बसको टिकट काटेर विराटनगर पठाएको उनीहरुले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट काठमाडौंमा रहेका बेला फोन गरेर दुवै महिलालाई विराटनगर बोलाउने काम भने काजीले गरेको खुलेको छ । काठमाडौंमा काजीको सम्पर्कमा रहेर महिलालाई विराटनगर पठाउने व्यक्तिको पहिचान खुल्न बाँकी रहेको र खोजी थालिएको प्रहरीको भनाइ छ ।
विराटनगरबाट भारतको जोगवनी पस्ने मुख्य नाका रानीदेखि लगभग एक किलोमिटर उत्तरतर्फतर्फ रहेको अवैध एवं चोर बाटोको प्रयोग गर्दै महिलालाई भारत लैजान लाग्दा फेला पारिएको डीएसपी राईले बताए । प्रहरीले बेचबिखनकै लागि महिलालाई लगिएको हुनसक्ने देखिएकाले गम्भीर ढंगले अनुसन्धान थालिएको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी थालिएको डीएसपी राईले बताए ।

