विराटनगर - नेकपा (नेपाल कम्युनिष्ट पार्टी) मोरङको पार्टी कार्यालयमा सोमबार तत्कालीन एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट विराटनगर महानगरपालिका–११ पाञ्चालीस्थित पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो ।

यसअघिसम्म यो कार्यालय तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरणपछि बनेको सत्तारुढ नेकपाको थियो । एकीकरणअघि उक्त पार्टी कार्यालय एमालेकै थियो । सर्वोच्चले सत्तारुढ नेकपालाई खारेजको फैसला सुनाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एमालेको बोर्ड राखेर कार्यालय सञ्चालनमा ल्याइएको सन्देश दिएको छ । आज दिउँसो एक कार्यक्रममार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले दल पुरानै अवस्थामा फर्किएको हुँदा पार्टी कार्यालयमा बोर्ड राखिएको जानकारी दिए ।

उनकै अगुवाईमा एमालेको बोर्ड राखिएको हो । मन्त्री ढकालले पार्टी आधिकारिकतासँगै निर्वाचन चिन्हको विषय पनि टुँगो लाग्ने बताए । तत्कालीन एमाले नेता अध्यक्ष ऋषिकेश पोखरेलले एमालेका जनवर्गीय संगठनहरुले समेत पूर्ववत् रुपमा काम गर्न थालेको जानकारी दिए । उनले सर्वोच्चको फैसलापछि अब पार्टीको भौतिक संरचना अब एमालेकै हुने र माओवादीले दाबी गर्न नमिल्ने बताए।

गत पुस ५ गते संसद विघटन भएपछि नेकपाको ओली समूह र दाहाल–नेपाल समूहले अलगअलग पार्टी कार्यालय प्रयोग गरिरहेका थिए । ओली समूहले पाञ्चालीको पार्टी कार्यालय र दाहाल–नेपाल समूहले तीनपैनीस्थित तत्कालीन माओवादीको कार्यालय प्रयोग गरिरहेका थिए । तत्कालीन माओवादी नेता गणेश उप्रेती सुशीलले सत्ता र शक्तिको आडमा जथाभावी गरिएको बताए ।

पार्टीको विषयमा अदालतले फैसला गरिसकेपछि आफूहरु त्यसको विरुद्धमा नजाने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पाञ्चालीस्थित नेकपाको पार्टी कार्यालयको सुरक्षामा प्रहरी परिचालन गरिएको थियो ।