विराटनगर–सुनसरीको दक्षिणी क्षेत्र देवानगंज गाउँ पालिका र रामधुनी नगरपालिकाको बक्लौरीका किसानको खेत बारीको माटो परिक्षण गर्न घुम्ती ल्याब नै लिएर प्राविधिकहरु पुगेका छन । घरै नजिक ल्याब सहित प्राविधिक आएपछि किसानले पनि बिना झन्झट बारी र खेतको माटो परिक्षण गराएका छन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुनसरीको धरान र बराहक्षेत्रमा संचलित अदुवा बेसार जोनको कार्यक्षेत्र, धान जोनको कार्य क्षेत्र, रामधुनी वडा न ६ र ७ र तरकारी जोनको कार्य क्षेत्र देवानगंज र बर्जु गाउँपालिकामा परियोजना कार्यान्वयन इकाई सुनसरीले माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहकार्यमा सुनसरीको बक्लौरी तथा देवानगंजमा माटो परीक्षण शिविर सञ्चालन गरेको हो ।
परियोजना अन्तर्गत धरान २० र बराहक्षेत्र १ मा अदुवा बेसार जोन कार्यक्रम सञ्चालन हुँदै आएकोमा अदुवा तथा बेसारमा गानो कुहिने रोग लाग्ने गरेकोले माटोको उपचार गर्दै गुणस्तरिय अदुवा तथा बेसार उत्पादन गराउनको लागि शिविर संचालन गरिएको थियो ।
त्यसै गरी धान जोनको कार्य क्षेत्र अन्तर्गत रामधुनी ६ र ७ न वडाहरुमा चैतेधानको क्षेत्रफल विस्तार गरिने कार्यक्रम रहेको हुँदा चैते धान खेती रोप्नुपुर्व माटो परिक्षण गरीएको हो । साथै तरकारी जोन क्षेत्र अन्तर्गत देवानगंज गाउँपालिका र बर्जु गाउँपालिका वडा नं ५ मा समेत माटो परिक्षण गरी तरकारी बालीको उत्पादन बढाउने उद्येश्यका साथ संचालन गरीएको हो ।
अदुवा बेसार तर्फका २३, धान जोन तर्फका ४३ र तरकारी जोन तर्फका ७२ गरी कुल जम्मा १३८ जना कृषकहरुले परिक्षणका लागि दिएको माटोको परिक्षण पश्चात सम्पूणर्को नतिजा समेत सार्वजनिक गरिएको थियो । सुनसरी जिल्लामा माटोको उर्वरा शक्ति घट्दै गएपछि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले निःशुल्क माटो परीक्षण शुरु गरेको हो । उक्त अवसरमा परीक्षण सार्वजनिक गर्दै कुन प्रकारको माटोमा कस्तो बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा समेत किसानलाई सुझाव दिइएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सुनसरीका प्रमुख दिपेन्द्र पोखरेलले परीक्षण गरिएको अधिकांश माटोमा अम्लीयपन अत्यधिक रहेकाले त्यसको निराकरणका लागि कृषि चुनको प्रयोग गर्न किसानलाई आग्रह गर्नुभयो र चालु वर्षमा अदुवा बेसार जोन तर्फ ५० टन कृषि चुन समेत अनुदानमा वितरण गरिने जानकारी दिए । चैते धानलाई विस्तार गर्ने नेपाल सरकारको प्राथमिक्ता समेत रहेको र संघिय शसर्त अनुदान मार्फत जिल्लाका केही पालिकाहरुमा समेत बजेट विनियोजन भएकोले स्थानिय तहसँग समन्वय गरी कृषि चुन उपलब्ध गराउने योजना रहेको पोखरेलले बताए । साथै संचालन गरीएको माटो परीक्षण गरिएको र परीक्षणपछि किसानलाई स्वायल टेष्टकार्ड दिएको समेत बताए ।
देवानगंज गाउँपालिका प्रमुख लालिप्रसाद मेहताले तरकारी जोन क्षेत्रमा अत्यधिक रासायनिक मलको प्रयोगका कारण माटोको उर्वरा शक्ति घटिरहेको र यस किसिमको प्रयोगशाला सेवाले किसानलाई फाइदा पुग्ने बताए । माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्रमुख नाथुप्रसाद चौधरीले माटो परीक्षण र त्यसको उपचार विधिमा किसानले समेत ध्यान पुर्याझउनुपर्नेमा जोड दिए र कृषि चुनको प्रयोग मात्राको बारेमा जानकारी दिए ।
सुनसरी जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतका जोनका कारण रामधुनि ६ र ७ मा चैते धानको उत्पादन समेत उल्लेखनीय वृद्धि भएको धान जोन संचालन समन्वय समिति सह संयोजक गणेश गुरागाईले बताए ।

