विराटनगर- प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणका सबै आरोपीलाई पक्राउ गरिसकेको छ । बास्तोलाको हत्याको आरोप लागेपछि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका छ जना नै प्रतिवादीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो ।
घटनामा जोडिएका छ जनाविरुद्ध सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत मोरङमा यसअघि नै कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । घटनाका मुख्य अभियुक्त भनिएका झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली पछिल्लो पटक बुटवलबाट पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले फरार रहेका उनलाई पक्राउ गरेर शनिबार बुटवलबाट मोरङ ल्याइएको बताउनु भयो । रणपहेलीलाई आज जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अदालतमा पेस गरिने उहाँको भनाइ छ ।
घटनाका अर्का अभियुक्त झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल यसअघि नै पक्राउ परिसकेको पाइएको छ । बास्तोलाको मृत्यु प्रकरण पेचिलो बनिरहेका बेला उनलाई भने मोटरसाइकल चोरी गरेको घटनामा झापा प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाउन अनुसन्धान गरिरहेको पुष्टि भएको छ । दुई साताअघि नै पक्राउ परेका पौडेलविरुद्ध चोरी मुद्दामा भइरहेको अनुसन्धान र कारबाही सकिएपछि बास्तोला मृत्यु प्रकरणमा कारबाही अघि बढाउन उनलाई मोरङ प्रहरीको जिम्मा लगाइने भएको छ ।
फरार रहेको भन्दै रणपहेली र पौडेलको खोजी यसअघि मोरङ प्रहरीले गरिरहेको थियो । घटनाका आरोपीमध्ये कानेपोखरी गाउँपालिका–७ रमाइलो घर भई उर्लाबारीमा बस्दै आएका १९ वर्षीय सुदीप परियार, मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरुमध्ये राई र गिरी अदालतले मागेको धरौटी रकम बुझाएर छुटिसकेका छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले राईसँग तीन लाख र गिरीसँग एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । न्यायाधीश लामिछानेकै इजलासले परियार र दर्जीलाई भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो ।
परिवारका सदस्यले उनको शव उर्लाबारीस्थित गोदावरी अस्पतालमा पाएका थिए । सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि पुर्याएपछि बास्तोलाको मृत्यु भएको दाबी गरिएको थियो । परिवारका सदस्यले भने हत्या भएको भन्दै छ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दाका रुपमा अनुसन्धान अघि बढाएको हो ।

