विराटनगर - मोरङको सुनवर्षीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज दिउँसो एक भारतीय युवतीको मृत्यु भएको छ । ढिस्कोले पुरिएर भारतको दरभङ्गा घर भएकी २० वर्षीया वन्शुबिया यादवको दिउँसो २ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
राईका अनुसार केही दिनअघि मात्रै सुनवर्षी नगरपालिका–४ गान्धीआश्रमस्थित मामा घर आएकी वन्शुबिया मावली गाउँका तीन/चार जनासँग मिलेर माटो खन्न गएकी थिइन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले माटोले पुरिएको अवस्थामा शव बाहिर निकालेको छ । शव पोस्टमार्टमा लागि रंगेली अस्पतालमा राखिएको छ । सुनवर्षी नगरपालिका–१ कालाबञ्जारस्थित डाँस खोलाको बगरमा रहेको खाल्डोभित्र माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेर घटना भएको जानकारी डीएसपी राईले दिए ।
घटनामा परेर एक बालिका र एक महिला घाइते भएका छन् । घाइते हुनेमा सुनवर्षी–४ की ९ वर्षीया बालिका मनिका यादव र ५५ वर्षीया महिला झोलीया यादव रहेको राईले बताए। घाइते दुवै जनाको रंगेली अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जानकारी अस्पतालले दिएको प्रहरीले जनाएको छ ।

