विराटनगर - नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको सुरक्षा आफ्नो पार्टीले गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पोखरामा आफ्नो ज्यान खतरामा रहेको बताएकाछन।
२४ घण्टा नै सुरक्षा घेराभित्र हुने प्रधानमन्त्रीले सुरक्षा खतरा रहेको बताएको भोलिपल्ट त्यसतर्फ ब्यङ्ग्य गर्दै नेता नेपालले सबैले बिचार गर्नुपर्ने बेला आएको बताए । ‘मुलुककै प्रधानमन्त्रीले ज्यानको खतरा छ भनेर भनिरहेका छन् । यो निक्कै गम्भीर कुरा हो,’ नेपालले भने, ‘मुलुकमा प्रधानमन्त्री असुरक्षित हुन हुँदैन । प्रधानमन्त्रीको जीवन सुरक्षित गर्ने कामको जिम्मेवारी हामीले बोक्नुपर्ने हो भने त्यसका लागि पनि तयार छौँ ।’ आज विराटनगरमा प्रेस संगठन नेपाल मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफू वर्षौदेखि ज्यानलाई जोखिममा राखेर हिँडेको पनि बताए । उनले प्रतिगमनविरुद्ध संघर्षमा उत्रिएका दलहरुसँग मिलेर र हातेमालो गरेर सरकार बनाउने पक्षमा रहेको बताए।
नेकपा, कांग्रेस र जसपा (जनता समाजवादी पार्टी) मूल तीन पार्टीहरुबीचमा छलफल भएर नयाँ सरकार गठन गरिने उनको भनाइ छ । ‘कांग्रेससँग छलफल चलिरहेको छ । जसपाले के निर्णय गर्छ भन्ने हेर्न बाँकी छ,’ नेता नेपालले भने, ‘जसरी पनि सहमतिमै नयाँ सरकार गठन हुन्छ । हामीलाई प्रधानमन्त्री चाहिँदैन भनिसकेका छौँ ।’ उनले कांग्रेस र जसपा जसलाई भए पनि प्रधानमन्त्री सुम्पन आफ्नो दल तयार रहेको बताए । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव जसरी पनि दर्ता गरिने बताए । ‘उहाँहरु (कांग्रेस, जसपा)लाई तपाईहरु प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुस् हामी साथ दिन्छौँ भनेका छौँ,’ नेपालले भने, ‘हैन भने हामी ल्याउँछौँ, साथ दिनुस् भनेका छौँ ।’
यसअघिको अविश्वास प्रस्तावका बारेमा भने सर्वोच्चको फैसलाको असर हेरेर संसद सचिवालयले निर्णय लिनुपर्नेमा उनको जोड छ । प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रतिगमनमा लागेका व्यक्तिका हकमा प्रश्चाताप र गल्ती महसुस गरेर आएमा पार्टीभित्र स्वागत गर्न तयार रहेको पनि उहाँले बताउनु भयो । तर प्रतिगमनका मतियार र बहाकबाट भने मुक्ति चाहेको उहाँको जिकिर थियो । नेता नेपालले आफूहरु नै आधिकारिक नेकपा भएको र निर्वाचन आयोगले पनि त्यसको संकेत दिइसकेकोे बताए ।
चार सय ४१ जना केन्द्रीय सदस्यबाट निर्णय गराएर दाबी गरिएका कारण आयोगले आफूहरुलाई आधिकारिक मानिसकेको र आधिकारिकता दिन मात्रै बाँकी रहेको उहाँको जिकिर थियो । बहुमत कसको साथमा छ भन्ने कुराको जुनसुकै प्रमाण पनि आफूहरु दिन तयार रहेको नेपालको भनाइ थियो । ओलीप्रति लक्षित गर्दै नेपाल नेपालले भने, ‘एउटा सानो चोइटो बालुवाटारमा बसेकोबस्यै छ । यता विशाल पार्टीको बैठक भएकोभयै छ । दुईतिहाईभन्दा बढी हामीसँग हुँदा पनि आयोगले निर्णय लिन सकेको छैन । आयोगले कहिले निर्णय गर्छ भन्ने कुराको जिम्मा चैँ हामी लिन सक्दैनौँ ।’ तर आयोगलाई भड्काउने पक्षमा आफूहरु नरहेको उनको भनाइृ छ ।

