विराटनगर- मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका अर्का प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाका आरोपी १९ वर्षीय सुदीप परियार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले परियारलाई मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट गयराति नियन्त्रणमा लिएको हो ।
कानेपोखरी घर भएका परियार सानैदेखि उर्लाबारीतिरै बस्ने गरेको पाइएको छ । परियारविरुद्ध यसअघि नै कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता भइसकेको छ । उनलाई प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आज अदालतमा पेस गर्ने तयारी गरेको छ । बास्तोला मृत्यु प्रकरणमा जोडिएपछि फरार बनेहरुको खोजी तीव्र बनाएको प्रहरीले प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ ।
मृत्यु प्रकरणमा जोडिएका उर्लाबारी नगरपालिका–६ का ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले हिजो मात्रै एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका प्रवीणको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । परिवारका सदस्यले भने हत्या भएको भन्दै छ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दाका रुपमा अनुसन्धान अघि बढायो ।
यसअघि पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईको हकमा अदालतले गत बिहीबार नै आदेश दिइसकेको थियो । आदेश अनुसार दर्जी पूर्पक्षका लागि थुनामा छन् भने राई तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटिसके । मुद्दामा प्रतिवादी बनाइएकामध्ये चार जना पक्राउ परिसके पनि झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल फरार छन् । दुवै जनाको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

