विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन आज मोरङ र झापा आउन लागेकाहुन । यति एयरलाइन्सको जहाजमार्फत बिहान ११ बजे भद्रपुर विमानस्थल हुँदै झापा ओर्लने र प्रमुख अतिथिका रुपमा कार्यक्रमहरुमा रहनेछन । सुरुमा बिर्तामोड नगरपालिका–७ मा विपन्न ३७ परिवारका लागि निर्माण गरिएको आवासको उद्घाटन कार्यक्रममा ओली सहभागी हुने तय भएको छ । प्रधानमन्त्रीले उद्घाटन गरेपछि नगरपालिकाले आवास समुदायलाई हस्तान्तरण गर्ने छ ।
अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ३७ विपन्न परिवारका लागि बिर्तामोड नगरपालिकाको संयोजनमा आवास निर्माण गरिएको हो । धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले एक बिघा तीन कट्ठा जग्गा उपलब्ध गराएपछि आवास निर्माण सम्भव भएको नगर प्रमुख धुब्रकुमार शिवकोटीले बताए । हेविट्याट नेपालको ८३ लाख रुपैयाँ र सहारा नेपालको प्राविधिक सहयोगमा नगरपालिकाले आवास निर्माण गरेको हो । विशेष गरी चौधरी, कुर्मी र सन्थाल समुदायका विपन्न नागरिकका लागि सात दशमलव तीन धुर क्षेत्रफलमा घरहरु तयार गरिएका हुन् ।
एउटा आवास निर्माणमा चार लाख रुपैयाँ खर्च भएको निर्माण समितिका सचिव अविरल कृष्ण खरेलले जानकारी दिए। आवास योजनालाई प्रदेश गौरव भिलेजको रुपमा नामाकरण गरिएको छ । आवास उद्घाटनपछि ओलीले बिर्तामोडमै निर्माण भएको पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्ने कार्यक्रम छ । उक्त हस्पिटल बी एण्ड सी अस्पतालले सञ्चालनमा ल्याएको हो । अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईले क्यान्सरको उपचारमा अब विदेश गइरहन नपर्ने दाबी गरे । उनका अनुसार तीन सय बेडको स्वीकृति पाए पनि हाल एक सय बेड मात्रै सञ्चालनमा ल्याइएको छ । झापाका दुईवटा कार्यक्रम सकिएपछि ओली मोरङ प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
ओलीले उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीनजिक लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल समुदायका लागि निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ । उर्लाबारी–९ मा सन्थाल बस्तीको शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले उर्लाबारी–८ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन । उर्लाबारी–८ का वडा अध्यक्ष कूलबहादुर कार्कीले शिलान्यास र सम्बोधन कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । उनका अनुसार सन्थाल जातिका लागि ३० करोड रुपैयाँ खर्च गरेर दुई वर्षभित्रमा एकीकृत बस्ती निर्माण गरिसक्ने योजना छ । झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी भएपछि ओली आज नै विराटनगर विमानस्थल हुँदै काठमाडौं फर्कने तय भएको छ । ओली विभिन्न कार्यक्रममा सहभागी हुन गत आइतबार पनि झापा आएका थिए ।
झापाका तीन स्थानीय तहहरु दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा बन्ने नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गरीएको थियो । त्यही दिन जिल्लाका विभिन्न विकास आयोजनाको शिलान्यास पनि ओलीलेनै गरे । ओलीको एक सातामा तीन दिन झापा पुग्ने कार्यक्रम यसअघि नै तय भएको थियो । आगामी २१ गते पनि ओली झापा आएर सुखानीको कार्यक्रममा सहभागी हुने बताइएको छ ।
यसैबीच प्रधानमन्त्री ओली आउने भएपछि झापा र मोरङको सुरक्षा व्यवस्था बिहानैदेखि अत्यन्त कडा पारिएको छ । सुरक्षा व्यवस्था मजवुत बनाउन नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानसमेतका चारवटै निकायलाई परिचालन गरिएको छ ।
ठाउँठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का र झापा प्रहरी प्रमुख एसपी सानुराम भट्टराई सुरक्षा व्यवस्था मिलाउन आफै फिल्डमा खटिएका छन । कुनै पनि कमजोरी हुन दिने हिसाबमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी र्दिए ।
काकीका अनुसार भद्रपुर विमानस्थलदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका स्थान र प्रधानमन्त्री काठमाडौं फर्कने विराटनगर विमानस्थलसम्मको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो । नेपाल प्रहरीका डीआईजी कार्की र प्रदेश १ सशस्त्र प्रहरी बल प्रमुख डीआईजी वंशीराज दाहाल झापा पुगिसकेका छन । प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा मिलाइएको सुरक्षा व्यवस्थाको अनुगमन र निरीक्षणका क्रममा रहनु भएका कार्की र दाहालले सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन निर्देशन दिएका छन ।

