विराटनगर - प्रहरीले मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा पुलमा ज्यानै लिने गरी भएको सामूहिक आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरका ३८ वर्षीय ओमनारायण धामी रहेका छन् । धामीलाई गयराति ९ः३० बजेतिर बूढीगंगा गाउँपालिका–२ बाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । गत भदौ १२ गते दिउँसोको घटनापछि फरार रहेका धामीलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको उनको भनाइ छ ।
धामीसहित बेलबारी–५ का ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगरसमेतको समूहले सामूहिक आक्रमण गरेर बेलबारी–५ का ४० वर्षीय चन्द्रकुमार राईको हत्या गरेका थिए । खोला तर्ने क्रममा बाँसको पुल प्रयोग गर्ने विषयलाई लिएर सुरु भएको विवादले उग्ररुप लिँदा ज्यानै जाने घटना भएको हो ।
विवादपछि खुकुरी लगायतका धारिलो हतियारले प्रहार गरिएको घटनामा ४२ वर्षीय सइकुमार राई र ३५ वर्षीय समुन्द्र राई र १६ वर्षीय गौरव राई घाइते भएका थिए । मृतक र घाइते हुनेहरु एउटै परिवारभित्रका हुन् । सइकुमार मृतक चन्द्रकुमारका दाजु, समुन्द्र भाइ र गौरव भतिज हुन् ।

